Harsamaya

सिनेमा क्षेत्रमा मेरो आफ्नो पहिचान छ । फिल्म मेकरका रूपमा चिनिने वातावरण बन्यो । तर, मलाई सबैभन्दा बढी खुशी लाग्ने नाट्य क्षेत्र नै हो । काउन्ट गर्दा सात/आठवटा सिनेमा गरे । तर, अहिलेसम्म फिल्म खेल्ने आँट आएको छैन । रंगमञ्चमा रमाइलो लाग्छ । स्टेज पाए भने मेरो लागि ‘इनअफ’ यहीँ नै हो  त्यसैले आफूले आफूलाई रंगकर्मी भन्न बढी रुचाउँछु, सिनेमा मेकर भन्दा पनि । म चलचित्र निर्माता संघमा पनि सचिव छु । निर्माताहरूको समस्याहरूसँग साथ दिनका लागि पदाधिकारी भएर बसेको छु । रंगकर्ममा ‘एक्टिभ’ छु। बुक पनि लेख्छु । लेख्न पनि मन पराउँछु । 

बेसिक कम्युटर सिक्दा भिडियो  ‘इडिटिङ’ सिकाइन्थ्यो । त्यतिबेला म आठ कक्षामा पढ्थे । पहिला रिलवाला क्यामरा हुन्थ्यो । गाउँमा एक जना दाइ हुनुहुन्थ्यो उहाँ खिच्नुहुन्थ्यो । म ६/ ७ कक्षाका भाइहरूलाई जम्मा गर्ने अनि राजेश दाइको ‘डायलग’ बोल्दै भक्कु पिट्थे । बाबाको घुँडासम्म आउने ज्याकेट लगाउने, गोलो वाला ह्याट लगाउने (जुन मैले पोखरा टुरमा जाँदा किनेको थिए) अनि सल्लवीरको लोहा बाल्दै (जुन बाल्दा धुँवा आउँछ) म बीचबाट महानायक हुँ भन्दै आउने अनि भाइहरूलाई ढुटो कुट्थे । त्यही बेला देखि नै हामी सर्ट मुभी जसरी जिस्कँदै जिस्कँदै कामहरू गरिराथ्यौं । एसएलसी पछि म फिल्म गर्छु कलाकार बन्छु भन्ने इच्छाले काठमाडौं आए । 

बागबजारका धेरै गल्लीहरूमा धेरै मान्छेहरूलाई चिया खुवाएँ । कतिलाई रक्सी खुवाएँ । उहाँहरूको नाम लिएर बदनाम गर्न त चाहन्न । अहिले उहाँहरू नै मसँग मालिक केही काम भए पाउ न भन्दै आउनुहुन्छ । त्यतिखेर भाइ जुत्ता ले भन्नुहुन्थ्यो । त्यो पनि याद छ मलाई । बिस्तारै बिस्तारै परिस्थितिले मलाई कलाकारितामा कुनै ठाउँ नदिएपछि आफैंले सिनेमा बनाउने आँट गरे ।

जिस्किँदा जिस्किँदै कोसिस गर्दागर्दै सिनेमा मेकिङमा हात हाले । पहिलो फिल्म बनाएर डुबाए । दोस्रो फिल्म पनि डुबाए । अब गाह्रो भयो । घरबाट बाहिर जा यहाँ बसेर केही हुँदैन भनेर प्रेसर आउँथ्यो । सबैको बुबाआमाको इच्छा भएजस्तै मेरो बुबाआमाको पनि इच्छा थियो । उहाँहरूले विदेश जान दबाब दिइरहनु भएको थियो । तर, मैले चाहिँ काम नछोडीकन सिनेमा बनाइरहेको थिए । तेस्रो फिल्मबाट म सफल भए । त्यसपछि लगातार मेरो छैठौँ सिनेमासम्म चल्यो । त्यसपछि दुईवटा फेरि ‘फल्प’ भयो। 

अहिलेसम्म अभिनय मैले गरेको छैन। अब अभिनयमा निरन्तरता दिन्छु भन्नेमा छु । हाम्रो बुझाइ फरक छ नि अलिकति ह्याण्डसम हुने बित्तिकै, दसैँमा दुई चार वटा गीतमा नाच्ने बित्तिकै यो त खत्रै हो, हिरो बना हिरोइन बना भन्ने चलन छ । त्यो प्रवृत्तिबाटै हुर्केको हो म पनि । यो कुरा सिनेमा बनाउँदै जाँदा मैले बुझे । जसरी एसएलसी दिनका लागि मान्छेले १० वर्ष पढ्नुपर्छ त्यसैगरी अभिनय गर्नका लागि पनि यो क्षेत्रमा ज्ञान हुनुपर्छ भन्ने हिसाबले मैले थिएटर ‘ज्वाइन’ गरे ।  दुई/तीनवटा थिएटरमा क्लास गरे । 

Kiran-Nepali-Poster-1752638239.jpg
मलाई नाटक प्रति नै मोह छ । म नाटक भनेपछि सबैकुरा छोडेर पनि लाग्छु । त्यसैले पनि म नाटकमै छु । अब चाहिँ सिनेमामा जाने तयारीमा छु । बीचको समयमा धेरै दुख गरे । मान्छेहरूले अहिले मैले लगाएको जुत्तामात्रै देख्छन् तर मैले जुत्ता लगाउनका लागि फटाएका, चुँडाएका चप्पलहरू देख्दैनन् । त्यो चाहिँ धेरै फटाएर चुडाउँदा चुडाउँदै यहाँसम्म आइपुगेको हो । 

अहिले मैले गरिरहेको ‘द मिसिङ डग’को क्यारेक्टरको विषयमा खुलाउनु भन्दा पनि उहाँहरूलाई यही बोलाएर देखाउनुपर्छ कि भन्ने लाग्छ मलाई । त्यसभित्र के के छ हामीले भन्यौं भने माइन्डमा एउटा ‘कन्सेप्ट’ आइहाल्छ । 

‘द मिसिङ डग’को कथावस्तुको कुरा गर्दा म समाजसँग अलि बढी घुलमिल हुने मान्छे । बेसी घुलमिल पनि छु जस्तो महसुस हुन्छ । किनभने म हरेक भूँइमान्छेसँग छु । म जुन समुदायबाट प्रतिनिधित्व गर्छु त्यो समुदाय हजार वर्ष देखि केही वादहरूले अपवाद बनाएर दबाएर राखेको समुदाय हो । त्यो समुदायमा मलाई श्वास फेर्नसमेत उकुसमुकुस थियो । मेरो पुर्खाका अपमानित इतिहासहरूलाई अहिले म सम्झन्छु । मान्छेले त्यसलाई बेचेर पनि खाइराछन् त्यो मलाई मनै पर्दैन । अर्को कुरा हामी आफैँ आफ्नो इतिहास बनाउनुपर्छ भनेर हिँडिरहेका छौं । त्यसले गर्दा मलाई यो समाजसँग  लगाव र प्रेम छ। त्यसैले यो नाटकको माध्यमबाट त्यस्ता मान्छेहरूको आवाज बोल्न खोजिरहेका छौं, जो यो समाजमा दबिएको छ। भुइँमा छ । दलनमा परिरहेको छ। आफ्नो पहिचानको खोजीमा छ। जसको पहिचानलाई कुल्चने कोसिस गरिएको छ । त्यस्ता मान्छेको आवाज बनेर नाटकमार्फत बोल्न चाहिराको हो ।

विश्वभरि नै हेर्ने हो भने नाटकमा यति पावर हुन्छ कि पहिलाका जति पनि देशहरूमा क्रान्ति भए नाटकका माध्यमबाट भए । राजा महाराजाहरूको पालामा पनि नाटक हुन्थ्यो। महाभारत पनि एउटा नाटक नै हो नि हाम्रो युगको कथा । जस्तै हामीले यो नाटकको माध्यमबाट समाजमा भएका घटनाहरू छन्  ती घटनाहरूको वास्तविकता यो हुन्छ तर बाहिरबाट चाहिँ यसो गरिन्छ भन्ने किसिमले देखाउन खोजेको हो । 

अर्को कुरा के भने अदालतको बाहिर एउटा महिला हातमा तराजु लिएको तर आँखामा टक्क कालो पट्टि बाँधेको हुन्छ । त्यो कुरालाई सम्झेर म सिंगो नाटक सम्झिराहुन्छु । कहिलेकाहीँ कानुनको आँखा यस्तो हुन्छ कि आँखामा पट्टि बाँधेको हुन्छ । जुन कुरा चाहिँ अदालतले अगाडि राखेर देखाइराको हुन्छ। जहाँ हामीले न्यायालय भन्छौं,जहाँ न्याय पाउँछौं, अन्धकारमा बसेर अँध्यारोमा आँखा छोपेर बसेर निर्णय गरिदिन्छ । त्योबाट नेपालमा धेरै मान्छेहरू पीडित छन् ।  ती मान्छेको आवाज चाहिँ यो नाटकको माध्यमबाट हामी व्यक्त गर्दछौं । 

Kiran-Nepali--1752638239.jpg
अहिले गरिरहेको नाटक (द मिसिङ डग) का निर्देशकसँगको संगत पहिला देखि नै हो । म मण्डलाको पनि विद्यार्थी हुँ । जब म क्लास लिन आए त्यो बेला देखि नै हामी एक अर्कामा नजिक छौं। कतिपय मान्छेहरूसँग त्यतिकै नि ‘भाइब्स’ मिल्छ । हाम्रो ब्याचको पनि हैन उहाँ । यहीँ मण्डलामै भेटिनुभयो। भेट भइसकेपछि एउटा सम्बन्ध बन्यो । मैले सिनेमा बनाउँदा उहाँलाई सम्झिराको हुन्छु । उहाँले नाटक गर्दा मलाई सम्झिरहनुभा हुन्छ ।

मलाई खुशी पनि लाग्छ। हामीले एकअर्काको काममा सम्झिरा हुन्छौं । कामै गर्ने क्रममा पनि मलाई चित्त बुझेन भने मणि यस्तो होला भनेर म सोध्छु उहाँले पनि दाइ यसरी गर्न पाए हुन्थ्यो भन्नुहुन्छ। हामी एकअर्कामा घुलमिल छौं । सम्बन्धले भाइ भएपनि अहिले मेरो डाइरेक्टर हो नि त। मैले दिनुपर्ने रेस्पेक्ट, गर्नुपर्ने व्यवहार त्यो सबै मेरो तरिकाले गरिराहुन्छु । उहाँबाट लिनुपर्ने कुरा लिएरै काम गरिराहुन्छु । आजको मितिसम्म असहज भन्ने महसुस भएको छैन । 

(द मिसिङ डग’ नाटकका प्रमुख कलाकार किरण नेपालीसँग गरिएको कुराकानीमा आधारित )

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update