काठमाडौं - नागढुंगा–मुग्लीन सडकको पुर्वी खण्डमा ४४ प्रतिशत काम सम्पन्न भएको छ ।
दुईवटा प्याकेजमा काम भइरहेको यस खण्डमा नागढुंगा देखि नौबिसे सड्क खण्ड अन्तर्गत १२.२ किलोमिटर र नौबिसे देखि मलेखु खण्ड अन्तर्गत ४३.५ किलोमिटर सहित कुल ५५ किलोमिटर सडक रहेको छ । जसमध्ये हाल सम्म करिब आधा अर्थात् २७ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको नागढुंगा–मुग्लीन सडक आयोजनाको पूर्वी खण्डका योजना प्रमुख केशब प्रसाद ओझाले बताए ।
उनका अनुसार यस खण्डमा पर्ने १५ वटा पुलहरू मध्ये ८ वटा पुलहरूमा गाडी नै चल्न सुरु भइसकेका छन भने यहि मसान्त सम्म बाँकी दुईवटा पुलहरूमा पनि गाडि चल्न सक्ने बनाइने छ ।
बाँकी पाँच वटा पुलहरू आगामी आव सम्म सम्पन्न गर्ने र सडक तर्फपनि आगामी आव सम्म पहिलो चरणमा सबै योजना ५५ किलोमिटर नै सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । यो सबै गरेर यस आयोजनामा हाल सम्म करीब ४४ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।
‘पहिलो प्याकेजको मात्रै कुरा गर्दा ८४ प्रतशित काम सम्पन्न भएको छ । दोस्रो प्याकेजको चाहिँ करीब ४३÷४४ प्रतिशत भौतिक काम सकिएको छ । यस आयोजना अन्तर्गत मुख्यतया डेडिकेटेड डबल लेनको सडक निर्माण हुनेछ । यसका कतिपय खण्डहरूमा छुट्टै क्लाइमिङ लेन भनेर तिन लेनको सडक हुनेछ जसमा उकालो तर्फ जाने सवारीहरू दुई लेनमा र ओरालो तर्फ झर्ने सवारीहरु एक लेनमा सञ्चालन हुनेछन,’ उनले भने ।
बजार क्षेत्रमा भने चार देखि ६ लेन सम्म पनि सड्क विस्तार हुने बताइएको छ । गल्छी बैरेनी क्षेत्रमा भने पानी परेपछि एकदमै खाल्डो हुने हिलो हुने भएकाले गत वर्षको हिउँद देखि युद्ध स्तरले काम गरेर धुलो र हिलो मुक्त भएको उनले बताए । यद्यपि, अझैं यसका केही कामहरू बाँकी रहेपनि दोहोरो गाडी हिँड्न सक्ने दुई किलोमिटर केक्रिट पेमेन्टबाट नै निर्माण सम्पन्न गरिसकेका छौं र अबको बर्खामा चाहिँ यात्रुहरूले हिलो खेप्नुपर्ने छैन भने हिउँदमा पनि धूलो खेप्नु नपर्ने उनको भनाई छ ।
‘गतवर्षको मनसुनमा यस सड्क खण्डमा भएको सवारी दुर्घटनाले निकै ठूलो क्षति पुर्याएको थियो । झ्याप्ले खोलमा भएको दुर्घटनामा ३५ जनाको ज्यानपनि गएको थियो । उक्त खण्डमा समेत पहिरो रोकथाम गर्नकालागि माइक्रो पायललिङ, होरिजेन्टल सोयल एन्करेज गर्ने जस्ता नयाँ प्रविधिहरू ल्याएर कामहरू अघि बढाएका छौं । अबको दुई सता जतिमा उक्त क्षेत्रमा हामीले पुर्ननिमाणको काम सम्पन्न गर्ने छौं । यसबाहेक महेश खोलाको कटान र परेवा भिर लगायत स्थानमा पनि पहिरो रोकथामका लागि तीव्र गतिमा काम भइरहेको छ ।’