
काठमाडौं - गत असोज १२ मा नागढुंगा–नौबिसे सडक खण्डको झ्याप्ले खोलामा लेदोसहितको भीषण पहिरो गएको स्थानमा अहिले पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
चीनियाँ कम्पनी जियाङसु र नेपाली साझेदार कम्पनी सगुन कन्स्ट्रक्सनले उक्त स्थानमा अहिले पुनर्निर्माणसँगै पहिरो रोकथामको काम समेत गरिरहेको हो । कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले सो सड्क खण्डको पहिलो खण्डमा करिब ८० प्रतिशत सड्क कालोपत्रे भइसकेको बताए ।
उनका अनुसार पहिरो गएको स्थानमा फेरी पहिरो जाने खतरालाई कम गर्न काम भइरहेको छ । गत वर्षको पहिरोका कारण यातायातका साधन समेत पुरिएका कारण ३५ जनाभन्दा धेरैले ज्यान गुमाएका थिए ।
बाटोभदा करिब २/३ सय मिटरभन्दा माथिल्लो भागमा भएको खाली जमिनमा प्लटिङ व्यवसायीहरूले जग्गा प्लटिङ गरेका थिए । प्लटिङ गर्ने टोलीले प्लटिङ गरेर माटो फालेका थिए । पानी परेपछि सोही माटो बगेर आयो र त्यसले पहिरो सिर्जना गरेको घिमिरेले बताए ।
’सोही माटो लेदोसहितको पहिरोमा परिणत भएर आएपछि जाने ठाउँ कहीँ नहुँदा थुनिएर त्यहाँ भएको सानो कलभर्टमा भरियो । पानीले पनि जाने निकास नपाएपछि सबै लेदो त्यही स्थान भएर बगेकोले ठूलो पहिरोको रूप लिएको हो,‘ उनले भने । यसअघि २०५० सालमा पनि सोही ठाउँमा पहिरो गएको थियो ।