काठमाडौं - मध्य बर्खामै पनि विभिन्न औद्योगिक करिडोरहरूमा उद्योगहरूले करिब ८ देखि १० घण्टासम्म लोडसेडिङको सामान गरिरहेको नेपाल चामल तेल दाल उद्योग संघका कार्यकारी सदस्य विभोर अग्रवालले बताएका छन् ।
अग्रवालका अनुसार उद्योगहरूमा यतिबेला धेरै समस्या छ । आजको दिनमा पनि मोरङ सुनसरी करिडोरमा करिब ७ देखि ८ घण्टा र पर्सातिरका उद्योगहरूमा ८ देखि १० घण्टा लोडसेडिङ छ । बर्खाको सिजन सुरु भएको छ अब विस्तारै केही सहज हुन्छ कि भन्ने आशा भएपनि ग्रिडहरूमा समस्या रहेको कारण पर्याप्त मात्रामा विद्युत आपूर्ति हुन नसकेको हो ।
‘उद्योगहरू एउटा मोसनमा चलिरहेका हुन्छन् त्यहाँ बारम्बार पावर कट भयो भने विद्युतको मोसन रोकिन्छ । अझ धान–चामलको उद्योगमा त यस्तो खालको पावर कटले धान नै बिग्रने अवस्था हुनसक्छ । ड्रायर मेसिनहरूमा भएको धान सड्ने अवस्थामा पुग्न सक्छ,’ उनले भने । ‘यदि लाइन कट हुन्छ भने उद्योगहरूलाई अग्रिम जानकारी दिएर मात्रै विद्युत काट्नुपर्छ । ग्रिड वा कुनै पोलमा समस्या आउँदा त्यसलाई छिटोभन्दा छिटो निवारण गर्नुपर्छ ।’
उद्योग चलाए बापत उद्योगीले विद्युतको तिर्ने बिलको तुलनामा जनेरेटरको लागत करिब ६ गुणा बढी हुन्छ । यस्तो अवस्थामा उद्योगमा दिनमा ८ देखि १० घण्टा लोडसेडिङ गर्ने हो उद्योग चल्न समस्या हुने उनको भनाई छ ।
अहिले गर्मीको कारणले गर्दा पावर तलमाथि भएर उद्योगको मुख्य स्विच पनि आफैँ ट्रिप हुने गरेको पनि उनले बताए । मोरङ सुनसरी कोरिडोरका उद्योगहरूमा पहिले नै जानकारी दिएर बत्ति काट्ने गरिएको भएपनि वीरगन्जतिरका उद्योगहरूमा अचानक १०/१० मिनेटमा लाइन आउने र जाने गरेको उनले बताए । बरु विद्युत प्राधिकरणले डेडिकेटेड हिसाबले लाइन काट्ने गरेमा उद्योगीहरु पनि तयारी अवस्थामा बस्न सहज हुने उनको भनाई छ ।
‘जानकारी दिएर काटेमा त्यो समयमा बरु उद्योग सफा गर्ने, स्टक म्यानेजमेन्टको काम गर्छौं । तर अचानक लाइन काट्दा उद्योगहरू ठूलो समस्यामा छन्,‘ उनले बताए ।
धान उत्पादन सम्बन्धी सरकारी तथ्यांक गलत छ
अग्रवालले धान उत्पादनका सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गर्ने गरेको तथ्यांक गलत भएको दाबी गरेका छन् । धान उत्पादनका सम्बन्धमा कुरा गर्दा सबैभन्दा पहिला हामीले हाम्रो पृष्ठभूमि बुझ्नुपर्ने बताउँदै आजभन्दा करिब २५ देखि ३० वर्ष अघिसम्म खाद्य संस्थानले वार्षिक २५ देखि ३५ हजार मेट्रिक टन चामल निर्यात निर्यात गरेको रेकर्ड भएको उनले बताए ।
‘आज हामी सबै किसिमका खाद्यान्न दाल, चामल नुन आदीमा पर निर्भर भएका छौं । हाम्रा पुर्खाले त हामीलाई उब्जाउ जमिन दिएर गए । जसमा हामीले धान फलाएको भए, हाम्रो कृषिलाई समर्थन गरेको भए आज हामी सायद निर्यात गर्ने बारेमा छलफल गथ्र्यौं । यस वर्ष नेपालले कति निर्यात गर्यो भन्ने विषयमा छलफल गर्ने अवस्था हुन्थ्यौं । निर्यातको सम्भावनाको कुरा गर्न सक्छौं तर निर्यातको कुरा गर्न सक्दैनौं किनभने आयात गर्ने मुलुकमा पर्दछौं । अहिले यस्तो अवस्थामा छौं कि आयात बन्द गर्यौं भने खाद्यान्न व्यवस्थापन गर्न र दाल चामल खान सक्ने अवस्थाको पनि टुंगो छैन,’ उनले भने ।
यस वर्ष संघले आजको दिनसम्ममा लगभग साढे २ लाख टन चामल र ५ लाख टन धान आयात गरेको उनको भनाइ छ । कृषि मन्त्रालयको रेकर्ड हेर्ने हो भने मन्त्रालयले ऐतिहासिक ५९ लाख टन धान फलाएका छौं भन्ने तथ्यांक सार्वजनिक गरेको उनले बताए ।
विश्व खाद्य कार्यक्रमको अनुसन्धानका अनुसार एक नेपालीले प्रतिवर्ष १३५ केजी चामल उपभोग गर्दछन् । यस हिसाबले वार्षिक ५३ देखि ५४ लाख टन धान हाम्रो देशमा फल्यो भने हामीलाई धान आयात गर्ने अवस्था नआउने उनले बताए ।
नेपालमा हरेक दिन दुई हजार मानिस विदेश गइरहेको तथ्यलाई उजागर गर्दै उनले भने,‘प्रत्येक दिन उक्त सङ्ख्यामा मान्छे विदेश गएपछि त खपत त केही न केही त घट्नु पर्ने हो । खपत घटिरहेको र धान उत्पादन बढिरहेको अवस्था छ । तर पनि आयात बढ्दै छ । अहिले ११ महिनामा ३९ अर्बको चामल आयात कसरी भयो । यो तथ्यांक कुन हिसाबले जोडेर निकालियो यो त पक्कैपनि सोच्नुपर्ने कुरा हो । सरकारको कृषि मन्त्रालयको हिसाबले ७० लाख टन धान हामीलाई चाहिन्छ । ५९ लाख टन हामीले फलाएका छौं र १०/११ लाख टन अपुग छ,’ उनले भने ।
यसवर्ष नेपालमा साढे चार लाख टन चैते धान फलेको सन्दर्भलाई उजागर गर्दै उनले किसानले डेढ लाख टन धान पनि बेच्न नसकेको बताए ।
‘सरकारले २८ सय भन्दा धेरै समर्थन मूल्य तोक्यो भने पनि किसानले १७/१८ सयभन्दा धेरै पाउन सकेका छैनन् । किनभने हाम्रो खानाको संस्कृति पनि परिवर्तन छ मीठो मसिनो खाने बानी छ । हामी धेरैजसो जीरा मसिनो चामल खाने गर्छौं, जुन भारतबाट धेरै आयात हुने गरेको छ,‘ उनले भने ।
धान चामल भनेको तेजी मन्दीको खेल भएको उनले बताए । व्यवसायीले धान ल्याएर स्टक गरेर २/३ महिना पछि बेचे भने बढी मूल्य पाउन सक्छु भन्ने आस किसानलाई पनि हुन्छ र मिलर तथा उद्योगीलाई पनि हुने उनको भनाइ छ ।
आज सस्तो मूल्यमा भण्डारण गरेर स्टकमा नाफा खाने हो भने किसानले पनि बढी मूल्य पाउने बिचौलियाले पनि पाउने र उद्योगीले पनि पाउने तर चैते धानको कुरा गर्ने हो भने किसानले सरकारले तोकेको समर्थन मूल्य पनि पाउन नसकेको उनले बताए ।
चैते धानको जुन २८ प्रतिशत मोइस्चर हुन्छ, त्यसलाई तुरुन्तै ड्राइ गर्न सक्ने अवस्था भएनभने धान सडेर जाने भएकाले किसानले समर्थ मूल्य पाउनलाई ड्रायरको सुविधा पनि राख्नु पर्ने हुन्छ । जुन नेपाल सरकारले दिन सकेको छैन् । त्यसकारण किसानले बाध्यता पूर्वक घाटा बेहोरेर पनि धानलाई बेच्नुपर्ने हुन्छ । त्यस कारणले चैतेधान लगाउने किसानलाई सार्है समस्या आउने गरेको उनले बताए ।
मुद्रा स्फीती घटेपनि महंगी किन घटेन ?
आज सर्वसाधारण मान्छेहरूले मूल्यवृद्धिको मार थेगिराख्नु परेको अग्रवालले बताए । नेपाल राष्ट्र बैंकका अनुसाार मुद्रा स्फीति ५ प्रतिशत बाट घटेर २.७५ प्रतिशत सम्म आएको भएपनि खाद्यान्न उत्पादनहरूको मूल्य बजारमा बढेको उनले बताए ।
‘मुद्रा स्फीति घटेपनि किन चामल र दाल लगायत खाद्यान्नको मूल्य घटेको छैन । किनकी हाम्रो देशमा अधिकांश जसो खाद्यान्न भारतबाट आयात हुन्छ । अयात गर्दा देखिको लागत र हामीले सरकारलाई तिर्नुपर्ने करका कारण हामीलाई खाद्यान्न महंगो नै पर्न जान्छ । त्यस कारण सर्वसाधारण मान्छेहरू महंगीको मारमा छन्,’ उनले भने । चोरी पैठारीको समस्याका कारण पनि बजार चलायमान नहुँदा मूल्य घट्न सक्ने अवस्था नभएको उनको भनाई छ ।