Harsamaya
३६ वर्षको उमेरमा नेपाली सिकेर नेपाली कविता संग्रह 
साहित्यका प्राध्यापक बन्दना मिश्र ‘मधु’को ‘कविताको अन्नप्राशन’ विमोचन ।

काठमाडौं - साहित्यका प्राध्यापक बन्दना मिश्र ‘मधु’को ‘कविताको अन्नप्राशन’ विमोचन गरिएको छ । 

आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच उपसभामुख इन्दिरा राना मगरले उक्त कविता संग्रहको विमोचन गरेकी हुन् । संग्रहमा १०१ वटा कविता समावेश छन् । 

प्राध्यापक बन्दना मिश्र ‘मधु’ सप्तरीको राजबिराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा इतिहास विभागको शिक्षक हुन् । कवितामा विशेष रुची राख्ने मिश्रको यो पहिलो प्रकाशित कृति हो ।

सामूहिक रूपमा भने मैथिली भाषामा कविता यसअघि नै प्रकाशित छ । मिश्रको जन्म भारतको बिहारमा भएको र नेपालमा विवाह भइसकेपछि कर्मथलो नेपाल बनेको हो ।

उनले ३६ वर्षको उमेरमा नेपाली सिकेकी हुन् । नेपाली भाषाप्रति यति प्रेम थियो कि गोरखापत्र पढ्दै, नेपाल टेलिभिजन सुन्दै उनले नेपाली भाषा राम्रो बनाइन् । 

मिश्रले महात्मा गान्धीको आत्मबृत्तान्त र चर्चित बंगाली उपन्यासकार शरत चन्द्र चट्टोपाध्यायको देवदासको मैथिलीमा अनुवाद गरिसकेकी छिन् ।

मोफसलमा बसेर साहित्य सिर्जनामा तल्लीन रहेपनि उनले चर्चा र नाम कहिल्यै नखोजेकाले त्यही भावना र मर्म बुझेर उनकी बुहारी रोश्ना सुवेदी मिश्रले कविताको अन्नप्राशन लाई पुस्तकका रूपमा ल्याउने जमर्को गरेकी हुन् ।

उनले हालसम्म फूटकर १ हजार भन्दा बढी लेख रचना प्रकाशन गरेकी छिन् । हाल सप्तरीको राजबिराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा उनी इतिहास विभागको शिक्षक हुन् ।

मातृभाषा हिन्दी भएता पनि उनले नेपाली र मैथिली भाषा सिकेकी छिन । विशेषगरी पर्यावरण, जल, महिला हिंसा जस्ता विषयवस्तुमा कलम चलाउने उनी मैथिली भाषामा कथा संग्रह, लोक गीत, वाल कथा, वाल कविता लेखेकी छिन् । 

मैथिली महिला परिषद् राजविराजको सल्लाहकार रहेकी उनी महिला हिंसाका विरुद्धका विभिन्न अभियानमा जोडिदैं आएकी छिन् ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update