काठमाडौं - सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरू रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एसईई सम्मान कार्यक्रममा बोल्दै उनले देशमा भएको अवसरलाई सदुपयोग नगरेर केही भएको छैन भन्ने कुराको पछि दौडिने प्रवृत्ति बढेको भन्दै नेपालमा नै प्रशस्त सम्भावनाहरु रहेको बताए ।
उनले भने, ‘नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने अवसर छ । यसको सदुपयोग गर्नुपर्छ । हामीसँग भएको अवसरलाई सदुपयोग गर्न जान्नु पर्छ । भएको कुरा केही होइन र हुँदै नभएको कुराको पछि पछि दौडिएर हामीले के पाउने । नेपालमा प्रशस्त सम्भावनाहरू छन् ।’
यस्तै, उनले नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने काम सबैको भएको भन्दै केही हुँदैन भन्ने गलत भाष्यलाई सबैले गलत साबित गर्नुपर्ने बताए ।
उनले भने, ‘अहिले नेपालमा केही हुँदैन, भन्ने भ्रम फैलाउने दुष्प्रयास भइरहेको छ । तर तपाई हामीले हो नेपाल बनाउने, नेपाललाई विकास निर्माणको पदमा अगाडि लगाउने, सुरुमै निराश भएर केही हुँदैन भन्ने गलत भाष्य निर्माण भइरहेको छ । यसलाई पनि सबैले गलत साबित गर्नुपर्छ ।’ उनले सबै विद्यार्थीहरूलाई मेहनतका साथ अगाडि बढ्न पनि आग्रह गरेका छन् ।