
काठमाडौं - नेपालको ठूलो सुन्दर रारा तालको काखमा रहेको सल्लेरी बजारमा स्थानीय नागरिक र रारा घुम्न आउने पर्यटकहरूको स्वास्थ्यलाई मध्यनजर गरी सरोकारवाला निकायबाट होटल तथा पसल अनुगमन गर्दा होटेलहरूमा सरसफाइ नभएको भेटिएको छ ।
होटलमा अनुगमनका क्रममा पर्यटक तथा अन्य स्थानीय नागरिकहरूबाट जन गुनासो नहोस् भन्ने हिसाबले सल्लेरी बजारमा रहेका पसल होटलमा जिल्ला सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकमा जिल्लामा रहेका सरोकारवाला निकायहरूको उपस्थितिमा बजार अनुगमन गर्दा म्याद नाघेका अखाद्य बस्तु चाउचाउ ,बिस्कुट , चिउरा, आटा, दालमोट, पेय पदार्थ, मदिरा, सुर्तीजन्य बस्तु लगायत म्याद गुज्रेका सामान बरामद गरी प्रक्रिया पुरा गरी नष्ट गरिएको छ ।
होटेलहरूका सरसफाइ गर्न सुझाव दिँदै अर्को पटक म्याद सकिएका सामान बिक्री गर्ने पसलहरूलाई कारबाही गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका प्रमुख कमल भट्टले बताए ।
सल्लेरी बजार पर्यटकीय क्षेत्र राराको छेउमा रहेको हुँदा पर्यटक र स्थानीय नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सल्लेरी बजार अनुगमन गरिएको र अखाद्य वस्तु नष्ट गरिएको साथै मूल्य सूचि राख्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले बताए ।
सल्लेरी बजारमा व्यवसाय गर्दै आएका व्यापारीहरूमा एकरूपता नहुनु, पर्यटकहरूलाई तानातान गर्दा पर्यटक र साना व्यापारीहरूलाई समस्या हुने गरेको मामा भान्ज होटलका सञ्चालक सन्तोष भामले बताए ।
सल्लेरी बजारमा व्यापारीहरूले कुनैपनि सामानको दररेट नराख्दा समस्या परेको स्थानीय लोल बहादुर बिकको गुनासो छ ।