काभ्रे - फ्रुटी, दूध र जुसमा नसालु पदार्थ मिसाएर खुवाई मानिसलाई बेहोस बनाई लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुटपाटमा संलग्न दुई जना र लुटिएको सुन खरिद गर्ने दुई जना छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया सङ्गीता तामाङ (कार्की) र धुलिखेल नगरपालिका–१ बस्ने ३८ वर्षीय वीरध्वज तामाङ छन् । उनीहरूले विभिन्न स्थानमा नसालु पदार्थ खुवाएर मानिसलाई बेहोस बनाई गरगहना तथा नगद लुटपाट गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
त्यस्तै, चोरी भएको सुन खरिद गरेको आरोपमा दोलखाको बिगु गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ बस्ने ४६ वर्षीय नवराज घिमिरे विक र काभ्रेको नमोबुद्ध नगरपालिका–१ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सङ्गीता र वीरध्वजले गत भदौ १० गते बनेपा नगरपालिका–४ मा बस्ने ७० वर्षीया हिरामाया जिम्बा र उनका ७४ वर्षीय श्रीमान् हस्तबहादुर जिम्बालाई आफ्नै घरमा दूधमा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएका थिए । त्यसपछि उनीहरूको कानमा लगाएको दुई थान सुनको रिङ र एक थान सुनको तिलहरी लुटेर फरार भएका थिए ।
बेहोस भएकी हिरामायालाई शिर मेमोरियल अस्पतालमा उपचारपछि थप सात दिन अल्का अस्पताल जावलाखेलमा राखिएको थियो । उनका श्रीमान् हस्तबहादुरको शिर मेमोरियल अस्पताल बनेपामा एक दिन उपचार गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, गत भदौ २३ गते नमोबुद्ध नगरपालिका–११ की ६७ वर्षीया पञ्चमाया तामाङलाई घरमै खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाई एक तोलाको सुनको रिङ लुटिएको थियो ।
असोज २४ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का ५४ वर्षीय गङ्गाबहादुर गुरुङलाई बनेपा नगरपालिका–६ मा फ्रुटीमा नसालु पदार्थ मिसाएर खुवाइएको थियो । बेहोस भएपछि उनको साथमा रहेको ४ हजार रुपैयाँ नगद र चारवटा राडी लुटेर आरोपीहरू फरार भएका थिए । गुरुङको शिर मेमोरियल अस्पताल बनेपाको सघन उपचार कक्षमा चार दिन उपचार भएको थियो ।
त्यस्तै, असोज २८ गते पनौती नगरपालिका–४ का ५१ वर्षीय हेमबहादुर बस्नेतलाई बनेपा नगरपालिका–३ मा लेमन जुसमा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाइएको थियो । उनको एक थान सुनको सिक्री, एक थान मोबाइल र एक थान सुनको औँठी लुटिएको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानका क्रममा सङ्गीता र वीरध्वजले लुटेका गरगहनामध्ये हिरामाया जिम्बा र गङ्गाबहादुर गुरुङको गरगहना भक्तपुरको मध्यपुर ठिमीस्थित जय शिव शक्ति सुनचाँदी ज्वेलर्सका सञ्चालक नवराज घिमिरे विकले बिना रसिद खरिद गरेको खुलेको छ । त्यस्तै, पञ्चमाया तामाङको गरगहना धुलिखेल नगरपालिका–५ स्थित गणेश सुनचाँदी पसलका सञ्चालक प्रविन सुनुवारले बिना रसिद खरिद गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले सङ्गीता तामाङको साथ र कोठाबाट ३ ग्राम सेतो धुलो पदार्थ, घटनामा प्रयोग भएको कालो रङको एक थान किप्याड मोबाइल र एक थान भिभो मोबाइल, एक थान राडी, कपडा तथा जुत्ता बरामद गरेको छ ।
नवराज घिमिरेको सुन पसलबाट स्वरूप परिवर्तन गरी ढिक्का बनाइएको सुनजस्तो देखिने धातुका चार टुक्रा बरामद भएका छन् । त्यस्तै, प्रविन सुनुवारको पसलबाट ११ दशमलव ६८ ग्रामको एक जोर सुनजस्तो देखिने रिङ बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सङ्गीता र वीरध्वजविरुद्ध यसअघि पनि चोरी तथा अन्य कसुरमा मुद्दा चलेको देखिएको छ । सङ्गीताविरुद्ध काठमाडौँको तिनचुलीमा एक महिलालाई नसालु पदार्थ खुवाएर सुन तथा नगद चोरी गरेको घटनामा समेत संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका चारै जनालाई अनुसन्धानपछि अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकमा पेस गरिएको प्रहरीले जनाएको छ ।
यस्ता प्रकृतिका घटनामा अन्य स्थानमा पनि उनीहरूको संलग्नता हुन सक्ने भन्दै प्रहरीले पीडितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

