Harsamaya
सर्लाहीमा मोटरसाइकल दुर्घटना:एकको मृत्यु, एक घाइते
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सर्लाही - सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१४ स्थित हरकठवा–श्रीनगर भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

गएराति हरकठवाबाट श्रीनगरतर्फ जाँदै गरेको ग ७ प ९४८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई आफैँ दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक, राम एकवाल महतोका १९ वर्षीय छोरा बिष्णु कुमार महतो गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि मोडेल अस्पताल लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

सोही मोटरसाइकलको पछाडि सवार १८/१९ वर्षीय प्रशान्त महतो पनि घाइते भएका छन्। उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको बताइएको छ।

प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि वयोद्या अस्पताल, वीरगञ्ज पठाइएको छ। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी गौरीशंकरबाट असई श्यामसुन्दर साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ। मृतक बिष्णु महतोको शव पोष्टमार्टमपछि उनका बुवाले प्रादेशिक अस्पताल मलंगवाबाट बुझेको प्रहरीले जनाएको छ।

स्थानीय वडाध्यक्ष शिवकुमार महतोसहित परिवारजनहरू उपचारमा संलग्न रहेको जानकारी प्राप्त भएको छ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update