Harsamaya
शेखर समूहको निष्कर्ष: अनुशासन समितिको कारबाही अवैधानिक, पूर्वाग्रह र प्रतिशोधपूर्ण
बिशालनगरस्थित कोइराला समूहको सम्पर्क कार्यालयमा शेखर समूहको बैठक ।

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही प्रतिशोधपूर्ण भएको निष्कर्ष निकालेको छ ।

बिशालनगरस्थित कोइराला समूहको सम्पर्क कार्यालयमा आज बिहान बसेको आकस्मिक बैठकले सो निष्कर्ष निकालेको सांसद राजेन्द्र बजगाईंले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टीको अनुशासन समितिका नाममा कोइराला निकटका नेताहरूमाथि गरिएको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको हो ।

‘उजुरी, निवेदन परेको समय अवधिको हिसाबले ६ महिना भित्रमा कारबाही गर्नुपर्ने विधानले भनेको छ, त्यो पनि घण्टा मिनेट नै गनेर, त्यो अनुरूप नभएको भएर यो (कारबाही) वैधानिक छैन भन्ने निष्कर्ष निकालियो, यसलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रही भएको पनि अधिकांशको राय थियो,’ उनले भने ।

बैठकमा समूहका नेता कोइरालाले अनुशासनको कारबाहीप्रति असहमति राखेका र अनुशासन समितिका दुई सदस्यले यो कारबाहीप्रति ‘नोट अफ डिसेन्ट’ नै लेखेको जानकारी दिएका थिए ।

बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरु र महामन्त्रीहरुकाबीच अहिले अनुशासन समितिको फाईल नचलाउने कुरा भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी एक्कासि विज्ञप्ती निकालेर कारबाही गरिएको बताए ।

गण्डकीका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनीका महामन्त्री विक्रम खनाल र खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि निष्कासन गरिएको छ । यसैगरी कास्कीका पूर्वसभापति कृष्ण केसीलाई तीन महिनाका लागि निष्कासन गरिएको छ ।

अनुशासन  समितिले एक वर्ष, ६ महिना र ३ महिनाको समयअवधि छुट्याएर नेता–कार्यकर्ताहरूलाई कारबाही गरेको हिजो सार्वजनिक भएको थियो ।

‘यो कारबाही विधानतः ठीक छैन, वैधानिक छैन र अनुशासन समितिले अनुशासन भंग गर्‍यो भन्ने विषयमा छलफल चलेको छ’ उनले भने, ‘पुनरावलोकनको लागि कारबाही परेका साथीहरूले आवेदन दिएपछि एउटा बृहत् भेला गर्नेबारे पनि छलफल भएको छ,’ सहभागी नेताहरूले भने । 

साथै, बैठकमा पार्टीको अधिवेशन तोकिएको समयमै विधानसम्मत समयमा हुन्छ भन्ने विषयमा संशय रहेको भन्दै सामना गरेर जानुपर्नेमा पनि उपस्थितिहरूले जोड गरेका छन् ।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update