Harsamaya
अधिकांश लेखक आफ्नो लेखकीय धर्म र उत्तरदायित्व वहन गर्नबाट क्रमशः विमुख हुँदै जान थालेका छन्: डा. मतिप्रसाद ढकाल
ग्राफिक्स : हर समय/Har Samaya

डा. मतिप्रसाद ढकाल नेपाली भाषा, साहित्य र व्याकरण क्षेत्रमा अध्ययन तथा अनुसन्धानमा सक्रिय छन् । वि.सं २०२८ जेठ १९ गते पिता पाराश्वर ढकाल र माता विष्णुकली ढकालका सुपुत्र डा. ढकाल नेपाल संस्कृत विश्वविद्यालयका सह-प्राध्यापक समेत हुन् । उनका साहित्य र अनुसन्धानमूलक गरी २३ वटा कृति प्रकाशन भइसकेका छन् । बागलुङ नगरपालिका–१२, अमलाचौरमा जन्मिएका ढकाल हाल गैँडाकोट नगरपालिका–१, विकासचोक, नवलपरासीमा बस्दै आएका छन् । आचार्य (संस्कृत व्याकरण), एमए (नेपाली), विद्यावारिधि (पाणिनीय सन्धिविज्ञान) गरेका ढकालको पहिलो फुटकर रचना संस्कृत शब्दहरूको लिङ्गनिर्धारण (२०५६) हो ।

गैँडाकोट नगर प्रज्ञा पुरस्कारलगायतका असङ्ख्य पुरस्कार र सम्मान प्राप्त गरेका ढकाल पठन संस्कृति अभियानका सञ्चालक पनि हुन् । कतिपय स्थानीय पत्रिकामा भाषा सम्पादक रहिसकेका ढकालका राजधानीबाट निस्कने पत्रिकामा एकताका पाठक प्रतिक्रिया छापिइरहन्थे । संस्कृत पढ्नेहरूमध्ये प्रायले रुचाउने विषय अध्यात्म क्षेत्र पनि हो र यसका चुकेका छैनन् ढकाल । यसलाई पुष्टि गर्ने ग्रन्थ हुन् गीतामा के छ ? र ‘महाभारतमा के छ’लगायतका कृति । 

पुरस्कारका पछाडि लागेर आफूले सिर्जना नगरेको भन्ने उनी आफ्ना  लागि सिर्जना नै एकमात्र धर्म भएको उल्लेख गर्छन् । उनी भन्छन्– ‘आफ्नो जीवनको अंश चिन्नु, निरन्तर लेख्नु र स्वतन्त्र ढङ्गले लेखिरहनु नै हरेक सर्जकको दायित्व हो । निरन्तरको साधना गर्नाले प्रतिफल अवश्य प्राप्त हुन्छ तर पथभ्रष्ट हुँदै गएको वर्तमान समाजमा सत्पात्र र सन्मार्ग पहिल्याउन निकै गाह्रो पर्छ । त्यसैले यसका लागि सर्जकले निरन्तर आफूलाई परिष्कार गर्दै साधनामा लाग्नुपर्दछ ।’

भाषिक शुद्धीकरण अभियानमा पनि सक्रिय प्रतिभाशाली व्यक्तित्व ढकाललाई (नयाँ वर्णविन्यासको विवादबारे) उद्धरण गर्दै प्रा. डा.अभि सुवेदीले एक दैनिक पत्रिका (२०७३ भदौ १९) मा लेखेका थिए– ‘शिक्षामन्त्री दीनानाथ शर्मा (तत्कालीन) ले अमेरिकाको सिल नामक क्रिस्चियन धर्मसम्बन्धी विवादास्पद संस्थाको दबावमा परेर २०६९ साउन २३ गते बसेको बैठकबाट नयाँ वर्णविन्यासलाई स्वीकृति दिने निर्णय गरेको र आफू मन्त्री छँदै थाहा पाएको भए उक्त निर्णयलाई उल्ट्याउँथेँ भन्ने उनको अभिव्यक्तिले कसरी विवादको बीजरोपण भएको रहेछ ।’

ढकालका प्रकाशित कृतिहरू :
१. प्रारम्भिक संस्कृत व्याकरण र रचना (२०५६), २. भानुभक्तीय रामायणका पाठभेदहरू (२०६३), ३. भानुभक्तका लघुरचनाहरू (२०६४), ४. शब्दनिर्माणप्रक्रिया र सन्धि (२०६९), ५. संस्कृत, प्राकृत र नेपालीका सन्धिनियम (२०६९), ६. चुँदीरम्घामा पुनर्जन्म (२०७३), ७. पुस्तकालयको भोक (२०७३), ८. म किन चिठी लेख्छु ? (२०७३), ९. संस्कृत व्याकरणको रूपरेखा (२०७५), १०. व्याकरणमहाभाष्यम् (२०७५), ११. परमलघुमञ्जूषा (२०७५), १२. गीतामा के छ ? (२०७५), १३. महाभारतमा के छ ? (२०७७), १४. भारतीय तीर्थयात्रा (२०८०), १५. पाणिनीय व्याकरणको अनुशीलन (२०८०), १६. स्वरवैदिकी प्रक्रिया (२०८०) १७. हाम्रो संस्कारमा के छ ? (२०८०), १८. शिक्षा कस्तो हुनुपर्छ ? (२०८०), १९.ढकालवंशीय कुलपूजाविधि (२०८१), २०. पूर्वीय यौनशिक्षा (२०८१), २१. पाणिनीय व्याकरणका अनुसन्धानको समीक्षा (भाग १, २२. पाणिनीय व्याकरणका अनुसन्धानको समीक्षा (भाग २) र २३. पाणिनीय व्याकरणका अनुसन्धानको समीक्षा (भाग ३) ।
ढकालका प्रकाशनोन्मुख कृतिहरू :
१. गैँडाकोटका लेखक, कलाकार र सङ्गीतकर्मीको परिचय, २. मन्दिरभित्र जुत्ताको रजाइँ, ३. पुज्न नसकिएकी सरस्वती, ३. कृति समीक्षा आदि ।

आजको साहित्य लेखनबारे ढकाल भन्छन्, ‘आजको साहित्य लेखनमा विषयको विविधता र व्यावहारिक आचरणलाई आफ्नो मुख्य आदर्श ठान्ने खालको छ । थोरै लेखक भएका कारण हिजोको साहित्य लेखनले धेरै पाठक जन्माउँथ्यो तर धेरै लेखक जन्मिँदै गएका र सूचना तथा प्रविधिको समेत द्रुततर विकास भइरहेका कारण आजको साहित्य लेखनले अपेक्षाकृत पाठक पाउन नसक्ने परिस्थिति पनि निम्तिँदै गएको छ ।’ उनै ढकालसँग हर समयका जयराम सापकोटाले गरेको कुराकानी । 

तपाईंको साहित्य लेखन कहिलेदेखि सुरू भयो ?
वि.सं. २०४५ मा धरानमा क्याम्पस पढ्दा पुस्तकालयको उपयोग गर्न सिकेँ । पुस्तकालयबाट ल्याएका पुस्तक पढेर छिटै बुझाउनुपर्ने भएकाले पुस्तक पढिसकेपछि टिपोट गर्दै जाने बानीको विकास हुँदै गयो । पछि २०४८ मा रिडी गुल्मीमा खरिदारको जागिर खान थालेदेखि मैले आफूलाई गरिमा मासिक पत्रिकाको नियमित पाठक बनाउन थालेँ । पत्रिका पढेपछि पाठक मञ्चमा कसरी प्रतिक्रिया लेख्नुपर्दो रहेछ भन्ने कुरा बुझें । २०५१ मा गरिमा मासिकमा मेरो पहिलो पाठक प्रतिक्रिया प्रकाशन भयो । त्यही पाठक पत्रबाट नै मेरो साहित्य लेखनको यात्रा प्रारम्भ भएको हो ।

लेखनमा कसबाट र कसरी प्रभावित हुनुभयो ?
पाठ्यक्रममा राखिएका पुस्तकका अतिरिक्त पुस्तक र साहित्यिक पत्रिकाको नियमित अध्ययनले मलाई लेखनयात्रामा प्रभावित पार्दै जान थालेको थियो । डा. माधवप्रसाद पोखरेलका एक/दुईवटा निबन्ध पढ्दा त्यसबाट म प्रभावित हुँदै गएँ र उहाँका प्रकाशन भएका तीनवटा निबन्धसङ्ग्रह बारम्बार पढिरहन मेरो मनले रुचायो । त्यसैले वैयक्तिक रूपमा म डा. माधवप्रसाद पोखरेलको लेखनबाट बढ्ता प्रभावित भएँ ।

कसरी बढिरहेको छ त लेखन गतिविधि ?
संस्कृत व्याकरण र नेपाली भाषाको विद्यार्थी भएका कारण म दुवै विधामा सधैँजसो केही न केही लेखिरहन रुचाउँछु । एकदुई रचना छापिँदा लेखक पो भएछु भन्ने अहंकारको उदय हुँदो रहेछ तर निरन्तर परीक्षाको विद्यार्थीले जस्तो पढ्दै, सिक्तै र लेख्दै जाँदा मलाई लेखकभन्दा पाठक भइरहेको जस्तो अनुभूति भएको छ । त्यसैले मेरो वर्तमानको लेखन गतिविधि पाठक बनेर अघि बढ्न रुचाएको छ ।

वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
विगतमा लेखक बन्ने धुनमा जस्तोतस्तो पनि लेखिएछ कि भनेर आत्ममूल्यांकन गर्दै वर्तमान लेखनको गतिलाई आफ्नो विषयगत रूपमा केन्द्रित गर्दा आत्मसन्तुष्टि प्राप्त हुँदै गएको अनुभूति भएको छ । 

कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
गीतामा के छ ?, महाभारतमा के छ ? जस्ता निबन्धसङ्ग्रह पढिसकेका पाठकले मलाई अब उपनिषद्मा के छ ? लेख्नुपर्छ भनेर बारम्बार प्रेरित गरिरहनुभएको छ । विगत साढे दुई वर्षदेखि शरीरभरि फैलिँदै गएको स्किन सोराइसिस नामक दीर्घकालिक रोगका कारण नून र अन्न तथा दुग्धजन्य पदार्थको सेवन गर्नबाट वञ्चित हुनुपरेको अनि शरीर कमजोर हुँदै गए तापनि मनले भने वेद, उपनिषद्, पुराण आदिका बारेमा अध्ययन गरेर पाठकहरूको जिज्ञासा शान्त गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ र म स्वास्थ्यले साथ दिएसम्म यस्तै नयाँ कृतिको लेखन तथा प्रकाशन गर्ने विचारमा छु ।

साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ ?
स्रष्टा एउटा व्यक्ति हो र उसले यथाशक्य साहित्यसाधना गरिरहेको हुन्छ । उसका आआफ्नै परिस्थितिहरू रहेका हुन्छन् र त्यस्ता परिस्थितिमा अभिभावकको जिम्मेवारी रहन्छ । राष्ट्र सबै स्रष्टाको अभिभावक भएकाले साहित्य र स्रष्टाप्रति प्रत्येक राष्ट्रको अभिभावकीय जिम्मेवारी रहनुपर्छ । राष्ट्रले प्रेरणा र प्रोत्साहन गरिरहन सकेका खण्डमा हरेक स्रष्टा जिम्मेवारपूर्वक साहित्यसाधनामा समर्पित भइरहन सक्छ ।

तपाईंको साहित्यिक आदर्श के हो ?
मलाई सैद्धान्तिक आडम्बरभन्दा व्यावहारिक यथार्थ मन पर्छ । म आफ्ना पाठकको रुचि र सामयिकी सन्दर्भलाई सर्वोपरि ठानेर लेख्न रुचाउँछु । त्यसका लागि मेरो साहित्यिक धरातल भनेको नै नैतिक आदर्श हो । नैतिक आचरण विचलन हुँदा समाजमा विभिन्न किसिमका विकृति भित्रिने र त्यसका कारण समाज प्रदूषित हुने भएकाले मलाई हरेक लेखक नैतिक आदर्शबाट विमुख हुनु हुँदैन भन्ने लाग्छ ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरेका छन् त ?
हरेक देशको मूल नीति भनेको नै राजनीति रहेछ । देशको राजनीति धमिलिँदा सबैजसो क्षेत्र पनि धमिलिँदा रहेछन् । राजनीति र नेतालाई दिशानिर्देश गर्न हरेक देशका प्राज्ञिक तथा बुद्धिजीवी वर्गभित्रै पर्ने लेखकहरू अग्रसर हुनुपर्ने हो तर वर्तमानमा नेपालका धेरैजसो लेखक राजनीतिक दलको भ्रातृसङ्गठनमा आबद्ध रहेर अनि नेताकै अघिपछि लाग्दै गएकाले अधिकांश लेखक आफ्नो लेखकीय धर्म र उत्तरदायित्व वहन गर्नबाट क्रमशः विमुख हुँदै जान थालेका छन् ।

तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
मैले आफ्ना कृतिलाई विद्यावंशका सन्तान ठान्छु । जसरी आफ्नो जन्मवंशका सन्तान जस्ता भए पनि प्रिय नै लाग्छन्– त्यसैगरी मेरा सबै कृति पनि मलाई प्रिय लाग्छन् । अघिल्ला कृतिका बारेमा प्रिय पाठकहरूबाट प्राप्त भएका आलोचनात्मक सुझाउलाई शिरोपर गर्दै पछिल्ला कृतिको लेखन र प्रकाशनमा आफ्ना कमीकमजोरीलाई सुधार्दै जान चाहन्छु । त्यसैले म तुलनात्मक रूपमा आफ्ना अघिल्ला कृतिबाट भन्दा पछिल्ला कृतिबाट बढ्ता सन्तुष्ट छु ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
हिजोको साहित्य लेखन एउटा विषयवस्तुमा गहिरिएर लेख्ने र नैतिक आचरणलाई आफ्नो मूल आदर्श ठान्ने खालको थियो भने आजको साहित्य लेखनमा विषयको विविधता र व्यावहारिक आचरणलाई आफ्नो मुख्य आदर्श ठान्ने खालको छ । थोरै लेखक भएका कारण हिजोको साहित्य लेखनले धेरै पाठक जन्माउँथ्यो तर धेरै लेखक जन्मिँदै गएका र सूचना तथा प्रविधिको समेत द्रुततर विकास भइरहेका कारण आजको साहित्य लेखनले अपेक्षाकृत पाठक पाउन नसक्ने परिस्थिति पनि निम्तिँदै गएको छ ।

तपाईंका विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
जसरी हाम्रो समाजका हरेक नागरिकले एउटै विषयलाई नरुचाएर विभिन्न विषयवस्तुलाई रुचाउँछन्– त्यसैगरी साहित्य पनि विविधतामय हुनुपर्छ । स्रष्टा भनेको नै सृजना गर्ने व्यक्ति हो । त्यसैले हरेक लेखकले मैले समाजका भत्किएका विषयवस्तुलाई पुनःनिर्माण गर्दैछु र भविष्यद्रष्टासमेत बनिरहेछु भन्ने किसिमले साहित्यसाधनामा समर्पित हुनुपर्छ र त्यस्तै किसिमको साहित्य लेखिनुपर्छ ।

लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?
संसारमा रहेका सबैजसो विषयवस्तुले लेखनका लागि केही न केही प्रेरणा दिन सक्छन् तापनि मेरा विचारमा लेखकको रुचि, अध्ययन, अवलोकन र अनुभव नै लेखनप्रति पे्ररणा जगाउने मुख्य स्रोत हुन् ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?
शीर्षकको स्फुरण र परिपक्वताका लागि कुनै निश्चित समय हुँदैन तर लेखनका लागि भने बिहानको ४ बजेदेखि ७ बजेसम्मको समय मेरा लागि निश्चितजस्तै हुन्छ ।

लेख्न कस्तो वातावरण चाहिन्छ ? 
कतिपय सफल लेखकले अशान्त वातावरणमा पनि उत्कृष्ट सृजना दिन सक्छन् । मैले भने लेख्नका लागि शान्त वातावरण बढ्ता रुचाउँछु ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ? 
लेख्नका लागि संसारमा असङ्ख्य विषयवस्तु भए पनि अध्ययन, अनुभव र अवलोकनका आधारमा म लेख्ने विषयवस्तुको छनौट गर्दछु ।

सफल स्रष्टाका आवश्यक गुण के–के हुन् ?
मेरा विचारमा अध्ययनशील, भ्रमणप्रिय, आलोचनाग्राही, प्रशंसाविमुखी र दूरदर्शी नै सफल स्रष्टाका आवश्यक गुण हुन् ।

साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
साहित्यका विधामध्ये तुलनात्मक रूपमा छोटो अवधिमै पढ्न सकिने भएकाले कविता विधाका पाठक नै बढ्ता भएको अनुभूति हुन्छ ।

सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
सृजनामा सजीवताभन्दा काल्पनिकता बढी हुनु राम्रो मानिन्छ ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
समाजमा बाँचिरहेका व्यक्तिका लागि समाज नै उसको प्राण हो । सामाजिक अनुरोध आउँदा, साहित्यिक तथा अनुसन्धानात्मक पत्रपत्रिकाले आआफ्ना रचना पठाइदिन ताकेता गर्दा र गम्भीर परिस्थिति आइपर्दा मलाई लेख्नुपर्ने बाध्यताको महशुस हुन्छ ।
  
नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
नयाँ लेखकले लेखक भएँ भनेर बढ्ता फुर्किनु हुँदैन । लेखक बन्न हतारिनुभन्दा पुराना र अनुभवी लेखकका रचना पढ्न अग्रसर हुनुपर्छ ।

किन केही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
लेखक युगद्रष्टामात्र होइन - भविष्यद्रष्टा पनि हो । लेखक पोखरी होइन–बगिरहने नदी हो । लेखक पराधीन होइन - ऊ स्वतन्त्र हुनुपर्छ भन्ने कुरामा कुनै पनि लेखकले विमति राख्न चाहँदैनन् तर पोखरीजस्ता राजनीतिक दलको झन्डामुनि बसेर सङ्कीर्ण र पराधीन हुन चाहने लेखकले समाजलाई दिशानिर्देश गर्न सक्तैन । छिटै प्रसिद्धि कमाउन र जस्तोसुकै अपराधजन्य क्रियाकलाप गरे पनि उन्मुक्ति पाइने भएकाले लेखकहरूसमेत राजनीतिक दलको झन्डामुनि ओत लाग्ने रहर गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update