Harsamaya
इकोमा पहिरो गएसँगै तातोपानी नाका बन्द, व्यवसायी भन्छन्,‘व्यवसायी मरेको मरेइ सरकार हेरेको हेरेइ’ [भिडियो]
तस्वीर: सुजित बस्नेत, नेपाल हिमालय सीमापार वाणिज्य संघ ।

सिन्धुपाल्चोक - अरनिको राजमार्गको कोदारी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । बुधबार कोदारी खण्डको इकोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । लामो समयदेखि पहिरो गएर अवरुद्ध भएको सडक शुक्रबार मात्रै खुलेको थियो । पाँच दिनमा नै पुनः सडक अवरुद्ध भएपछि व्यवसायी मारमा परेको नेपाल हिमालय सिमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले गुनासो गरे । 

उनले व्यवसायी मरेको मरेइको अवस्थामा रहेको बताए । संघले सरकारी निकाय र जनप्रतिनिधिहरूलाई भेटेर सडक सुचारु गर्न आग्रह गरेको थियो । ‘आशा गरौँ भर नपरौँ भने जस्तो छ तातोपानी नाकाको ईको पहिरो । अब वैकल्पिक नाका केरुङ रसुवा गढीको लागि जति जना मन्त्री, सरकारी निकायलाई भेटघाट गरे पनि, पहल गरे पनि भोलि होकि पर्सि भने जस्तो कहिले भेटेन हो भोलि र पर्सि ठेगान छैन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘व्यवसायी मरेको मरेइ सरकार हेरेको हेरेइ, यस्तै छ नेपालको चलन साथी हो ।’

चाडवाडक‍ो मुखमा बाटो सुचारु हुन नसक्दा चीनबाट आयात हुने खाद्यान्न तथा लुगाफाटो नेपाली बजारमा आई पुग्न सकेको छैन । ल्हासादेखि तातोपानी नाकासम्म १५ सय गाडी नेपाल प्रवेशका लागि लाममा बसेको उपाध्यक्ष बस्नेत जानकारी दिए । ‘ल्हासा देखि तातोपानी बोर्डरसम्म १५ सय गाडी लाममा छ’, उनले भने, ‘केरुङमा ६०० कन्टेनर बाटो खुल्ने प्रतिक्षामा छन् ।’

रसुवाको केरुङ नाका बन्द भएपछि चीनबाट आउने सामान तातोपानी नाका हुँदै आउने गरेका छन् । नेपाल तर्फको इकोमा पहिरो जाँदा  सो सडक खण्ड पटक-पटक खुल्ने र बन्द हुने भइरहेको छ । सो नाका हुँदै सामान आयात गरेका व्यापारीहरू समयमै सामान ल्याउन नसक्दा तनावमा छन् । ‘चीनबाट आयात गरेका सामान बाटोमै अलपत्र छ’, एक व्यापारीले भने, ‘सरकारको लापरबाहीको पराकाष्ठा बाटो २ दिन खुलेर १० दिन बन्द हुने गरेको छ ।’

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले कुहिने खाद्यान्न तथा फलफूल भरिया लगाएर पहिरो पार गर्न लागेको जानकारी दिए । ‘बाटोको कुनै ठेगान भएन लामो समय कन्टेनरमा रहेका फलफूलहरू कुहिन थालेका छन्,’ बस्नेतले भने,‘व्यवसायीहरूले भरिया लगाएर सामानहरू पहिरो तार्दै छन् ।’ बस्नेत बाटो खुलाउन हरपल इकोमा नै रहने गरेका छन् । 

गत शुक्रबार सडक सुचारु हुँदा ६० कन्टेनर खाद्यान्न, फलफूल तथा लत्ताकपडा भित्रिएको उपाध्यक्ष बस्नेतले जानकारी दिए  । नेपाल तर्फबाट ३५ रित्ता कन्टेनर चीन प्रवेश गरेको उनेले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update