Harsamaya
अखाद्य तेल र इन्धन बोकेको मिनी ट्रकसहित चालक पक्राउ
जिल्ला प्रहरी कार्यालय बाराले अखाद्य तेलजन्य पदार्थ, ईन्धन र मिनी ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बारा - जिल्ला प्रहरी कार्यालय बाराले अखाद्य तेलजन्य पदार्थ, ईन्धन र मिनी ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित हलेसि पेट्रोल पम्प नजिकैबाट गाडीमार्फत तेल चोरी गरी बिक्री वितरण हुँदै आएको अवस्थामा एक युवकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा जीतपुरसिमरा–१२ फत्तेपुर निवासी २१ वर्षीय सुवास चौधरी रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङ्गले बताएका छन्।

चौधरीले सञ्चालनमा रहेको ना १ क २८३६ नम्बरको मिनी ट्रकमा विभिन्न प्रकारका तेल र अखाद्य पदार्थहरू लोड गर्दै गरेको अवस्थामा फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय जितपुरका सई वेदप्रकाश जोशीको नेतृत्वमा आइतबार साँझ खटिएको टोलीले घटनास्थलमा खानतलासी गर्दा झण्डै ८ हजार लिटर तेलजन्य पदार्थ बरामद गरेको हो।

बारा प्रहरीका अनुसार ५ हजार,७९५ लिटर बनस्पतिजन्य तेल जस्तो देखिने अखाद्य पदार्थ, १ हजार लिटरका ६ ड्रम र १५ लिटरका ५३ ग्यालेनमा रहेको, अनुमानित मूल्य ६ लाख ३७हजार ४५० तथा  १ हजार लिटर पेट्रोल, २०० लिटरका ५ ड्रममा रहेको अनुमानित मूल्य १ लाख, ६२ हजार, ६०० लिटर डिजेल, २०० लिटरका ३ ड्रममा रहेको अनुमानित मूल्य ८७ हजार ६००,  ६०० लिटर मट्टीतेल,  २०० लिटरका २ ड्रम, १०० लिटरको १ ड्रम, र २० लिटरका १५ ग्यालेनमा रहेको, अनुमानित मूल्य ८९हजार ४०० रहेका छन । 

बारा प्रहरीका अनुसार कुल बरामद इन्धन तथा अखाद्य तेलजन्य पदार्थको मूल्य  ९ लाख ७६ हजार ४५० बराबरको रहेको छ।

बरामद मिनी ट्रक र चालक हाल प्रहरी नियन्त्रणमा छन् र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बारा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन्।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update