Harsamaya
इन्द्रावती–५ मा किसानलाई मिनि टेलर र बाख्रा वितरण, उत्पादन वृद्धिमा टेवा पुग्ने आशा
इन्द्रावती गाउँपालिका–५ मा किसानलाई मिनी टेलर र ३० जना किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ।

सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका–५ मा कृषि उत्पादकत्व अभिवृद्धिका लागि वडा कार्यालयको पहलमा हिजो बिहीबार १३ जना किसानलाई मिनी टेलर र ३० जना किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ। स्थानीय तहको स्रोत तथा सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमले कृषिमा यान्त्रीकरण र पशुपालन दुबैलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ। वितरण कार्यक्रममा वडाध्यक्ष शशिनाथ आचार्यले कृषि क्षेत्र आत्मनिर्भर बनाउन यस्ता योजनाले ठुलो योगदान पुर्‍याउने बताए।

“हाम्रा किसानहरूको श्रमलाई सजिलो बनाउने र आम्दानी बढाउने उद्देश्यले यस्ता योजना ल्याएका हौँ,” वडाध्यक्ष आचार्यले भने, “यसले कृषकलाई उत्पादनमुखी बनाउन मद्दत गर्नेछ।” वडाध्यक्ष  आचार्यले किसानहरूलाई १००० बोट टिमुरको बोटबिरुवा पनि वितरण गरेको  बताए। कार्यक्रममा सहभागी किसानहरूले यस्ता सहजीकरण कार्यक्रमले जीवनस्तर उकास्न सहयोग पुग्ने भन्दै वडा कार्यालयप्रति आभार व्यक्त गरेका छन्। यसरी वितरण गरिएका उपकरण तथा पशुहरूबाट कृषिमा आधुनिकता र व्यावसायिकता ल्याउने अपेक्षा लिइएको छ।

 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update