![विनोद चौधरीलाई दिनेश कोइरालाको जबाफ - शेखर कोइराला संकीर्ण भएको भए तपाईं केन्द्रीय सदस्य बन्नुहुन्थेन [पूर्णपाठसहित]](https://www.harsamaya.com/uploads/posts/Dinesh-koirala-1751548204.jpg)
काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले कांग्रेस नेता कार्यकर्ता संकीर्ण नभएको स्पष्ट पारेका छन् । जारी केन्द्रीय समिति बैठकमा बिहीबार बोल्दै कोइरालाले शेखर कोइराला संकीर्ण नभएको बताएका हुन् । समिति बैठकमा केहीदिन अघि विनोद चौधरीले शेखर कोइारलालाई संकीर्ण भएको आरोप लगाएका थिए ।
उनले शेखर कोइराला, शेरबहादुर देउवालगायत पार्टीका नेताहरू संकीर्ण हुनुहुन्थ्यो भने चौधरी अन्तरिक्षबाट टपक्क ओर्लिएर केन्द्रीय सदस्य बन्न नपाउने बताए । ‘कांग्रेसका कार्यकर्ता संकीर्ण थिए भने उहाँ त्यति राम्रो मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित नै बन्नुहुन्नथ्यो । शेखर कोइराला संकीर्ण व्यक्ति हो भने उहाँले पार्टी सभापति पदमा कसरी ४० प्रतिशत मत ल्याउनुभयो ? उहाँलाई मत दिने सबै संकीर्ण हुन् ? याद राख्नुहोस्, शेखर कोइराला पार्टी सभापति पदका निकटतम प्रतिस्पर्धी हो’,उनले भने ।
कांग्रेसभित्र चुनावमा पराजित हुनेलाई उच्च कदर गर्ने संस्कृति रहेको उनले स्पष्ट पारे । ‘विगतमा निकटतम प्रतिष्पर्धीले सभापतिलाई कति दुःख दिन्थे भन्ने सम्झनुहोस् र अहिलेको अवस्था पनि हेर्नुहोस् । यति उदार र सहयोगी शेखर कोइरालालाई संकीर्ण भन्न मिल्छ ?’, उनले प्रश्न गरे ।
कांग्रेस केन्द्रीय समिति यति शान्तिसँग चलेको शेखर कोइरालाकै कारण भएको उनले बताए । ‘अघिल्लो कार्यकालमा पनि देउवा सभापति हुनुहुन्थ्यो । उहाँलाई केन्द्रीय समितिको बैठक चलाउन सजिलो थिएन । टेबल ठोकिन्थ्यो, बैठक चल्न दिइँदैनथ्यो, बैठक बहिष्कार गर्छौ भनिन्थ्यो । पार्टी चलाउन उहाँलाई धेरै गाह्रो थियो । त्यस अघि सुशील कोइरालाको पालामा पनि पार्टी चलाउन गाह्रो थियो । पहिले पहिले यति सजिलोसँग पार्टी चल्थ्यो ? यति सजिलोसँग बैठक चल्थ्यो ? इतिहासमै यति सजिलोसँग पार्टी चलेको, बैठक चलेको अहिले हो । र, यो सबै निकटतम प्रतिस्पर्धी शेखर कोइरालाको कारणले हो’, उनले भने ।
कोइरालाले नेताहरू मानिस भएकाले अनेक कमजोरी भएपनि छुद्रता र संकीर्णता नभएको ठोकुवा गरे । ‘हाम्रा नेताहरूको उदारता नदेख्ने तर संकीर्णता मात्र देख्ने प्रवृत्ति पनि ठिक होइन भन्ने मेरो ठम्याइ छ’,उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले केन्द्रीय समिति बैठकमा राख्नुभएको धारणा-
श्रीमान सभापतिज्यू,
पदाधिकारीज्यूहरु,
पार्टीका वरिष्ठ नेताज्यूहरु तथा उपस्थित केन्द्रीय सदस्यहरु
१. हाम्रो पार्टीको अहिलेको पहिलो कार्यभार निरस जनतामा आशा जगाउनु हो । यो काम दुई तरिकाले गर्न सकिन्छ । पहिलो तरिका हो, हाम्रा केन्द्र, प्रदेश र स्थानीय सरकारहरुको काम कारवाहीलाई प्रभावकारी बनाएर । मुख्य गरी हामीले केन्द्र सरकारको काम प्रभावकारी बनाउनेमा तत्काल ध्यान केन्द्रीत गर्न आवश्यक छ ।
२. भ्रष्टाचार देशको सबैभन्दा ठूलो मुद्दा हो । यो कुरा हामीले स्वकार गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रणको प्रस्थान विन्दु सम्पत्ति छानविनलाई बनाउनुपर्छ । अहिलेसम्म उच्च ओहोदामा रहेका नेता, कर्मचारी, ब्यापारी सबैको सम्पत्ति छानबिन गर्नु पर्छ । छानविनको कार्यविधि र मोडालिटीमा हामीले ध्यान केन्द्रीत गर्नुपर्छ ।
उच्च ओहोदामा रहेकाहरु, उनिहरुसंग जोडिएका कैयन फायल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दराजमा थन्किएका छन् । त्यस्ता पेन्डिङमा भएका फाइल खोल्ने बातावरण बनाउनु पर्छ ।
३. नेपालबाट युवाहरु विदेशिए भन्ने चिन्ता हामीलाई छ । तर, स्वदेश फर्कनेहरुको पनि ठूलो संख्या छ । उनीहरुले पूँजी, सीप र अनुभव लिएर फर्किएका छन् । उनीहरुको श्रम, सीप र पूँजी देशभित्र उपयोग गर्ने वातावरण बनाउनुपर्छ । यसका लागि विशेष कार्ययोजना निर्माण गर्ने काममा नेपाली कांग्रेसले अगुवाई गर्नुपर्छ ।
४. निर्वाचनमा हामी माओवादीसँग मिल्यौं । माओवादीले धोका दिएपछि एमालेसँग मिल्यौं । हाम्रो काम नै धोका खाने भयो । धोका नखानका लागि पार्टीलाई आत्मनिर्भर बनाउनुपर्छ । हामीले दूरदर्शिता देखाउन सकेनौं । भविष्य हेरेनौं । नेतृत्वले गल्ती गर्ने अनि कार्यकर्तामाथि कारवाहीको डण्डा बर्साउने ? यो हुँदैन । कांग्रेसको उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिन पाइँदैन । तर, पार्टीलाई धोका दिने गठवन्धन विरुद्ध उम्मेदवार बनेकाहरुलाई कारवाही गर्न हुँदैन । उनीहरुको कारवाही फुकुवा हुनुपर्छ ।
अब म थप केही विषयमा प्रवेश गर्छु ।
५. आजकाल विश्वभरी हाइपर सोनिक मिसाइलको खुब चर्चा छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले यस्ता हाइपर सोनिक मिसाइल धेरै पटक देखेका भोगेका छन् । चुनावका बेला एकजना अब्बल मानिस आकाशबाट हाइपर सोनिक मिसाइल जसरी फ्याट्ट झर्छ । उ त्यतिकै झरेको हुँदैन, साथमा टिकट पनि बोकेर झरेको हुन्छ । हाइपर सोनिक मिसाइलले बम बारुद बोकेर झरेको हुन्छ भने हाइपर सोनिक मानिसले चाहिँ टिकट बोकेर झरेको हुन्छ । जिल्लामा, क्षेत्रमा हाइपर सोनिक मानिसले ल्याएको टिकटले बमको जस्तै काम गर्छ । त्यसपछि जिल्लाका कार्यकर्ताहरु हाहाकार मच्चिन्छ । यस्तो धेरैतिर भएको छ ।
हाइपर सोनिक मानिसले टिकटका कैयन दावेदारहरुलाई पाखा लगाइदिन्छ, कार्यकर्ताको सपना भत्काइदिन्छ, नयाँ बातावरण सिर्जना गरिदिन्छ । त्यसपछि हाइपरसोनिक उम्मेदवारले चुनाव लड्छ । जित्यो भने आफ्नै कारणले जितेको भन्छ । भविष्यमा तगारो बन्न सक्ने प्रतिस्पर्धीमाथि कारवाहीको डण्डा चलाउँछ । हार्यो भने त झन् कुरै भएन, आफ्ना कारणले हारेको स्वीकार्दैन, कार्यकर्ताको कारणले हारेको भन्छ र कारवाहीको डण्डा चलाउँछ । आेंठमा जँुगाको रेखा नबस्दैदेखि कांग्रेसमा लागेर युग बिताएको मानिसलाई हाइपरसोनिकले कारवाहीको डण्डा चलाउँछ ।
(अब कांग्रेसले यस्ता हाइपरसोनिक प्रवृत्तिमा अंकुश लगाउनुपर्छ ।)
६. अर्का खाले मानिस हुन्छन् जो पार्टीलाई चन्दा दिएकोमा गर्व गर्छन् । राजनीतिक दललाई चन्दा दिनु राम्रो हो । चन्दा कति पारदर्शी तरिकाले दिइएको छ भन्ने पनि हेक्का राख्नुपर्छ । मैले चन्दा दिएको छु, त्यसैले मलाई नेता मान्नुपर्छ भन्ने दुस्साहस गर्न हुँदैन । मैले चन्दा दिएको छु, त्यसैले मैले जे गरे पनि हुन्छ भन्न हुँदैन । मैले चन्दा दिएको छु त्यसकारण मैले ताकिताकि छानीछानी कारवाहीको डण्डा चलाउँछु भन्न हुँदैन । प्रतिस्पर्धीलाई रोजीरोजी कारवाहीको डण्डा चलाउँछु भन्न हुँदैन ।
वीपी कोइरालाले सुकिलामुकिलाको कुरा गर्नुभएको थियो । यो सबैलाई थाहा भएको कुरा भनेर म समय लिन्नँ । तर, सुकिलामुकिलाले पार्टी कब्जा गरेर इमानदारहरुले संघर्ष गर्नुपर्ने दिन नआओस् । यसमा हामी सचेत हुनैपर्छ ।
मैले प्रवृत्तिको कुरा गरेको हो । अब एउटा नमीठो विषयमा पनि चर्चा गर्न चाहन्छु ।
विनोद चौधरीले आफूलाई अब्बल मानिस भन्नुभयो । वास्तवमा उहाँ अब्बल नै हो । नेपालको औद्योगिक क्षेत्र तथा अर्थतन्त्रमा उहाँको ठूलो योगदान छ । उहाँजस्तो अब्बल मानिस विवादमा पर्नुभएकोमा मलाई दुःख लागेको छ । अब म जे भन्न गइरहेको छु, विनोद चौधरीको विरोध गरेको नठानियोस् । म उहाँको प्रशंसक नै हो । पार्टीको सांसद्का रुपमा उहाँ जति सफल बन्नुहुन्छ, हाम्रो पार्टी त्यति सफल हुन्छ । म फेरि पनि भन्छु, उहाँ अब्बल मानिस हो । यति अब्बल मानिसले अलि हाइ लेभलको स्तरीय राजनीति गर्नुहुन्छ भन्ने मलाई लागेको थियो र अझै पनि लागेको छ ।
विनोद चौधरीका बारेमा शेखर कोइरालाले एउटा प्रश्न उठाउनुभयो, जवाफमा विनोदले आठवटा प्रश्न उठाउनुभयो । शेखर कोइरालालाई संकीर्ण पनि भन्नुभयो । शेखर कोइराला, शेरबहादुर देउवा लगायत हाम्रो पार्टीका नेताहरु संकीर्ण हुनुहुन्थ्यो भने उहाँ अन्तरीक्षबाट टपक्क ओर्लिएर केन्द्रीय सदस्य बन्न पाउनुहुन्नथ्यो । कांग्रेसका कार्यकर्ता संकीर्ण थिए भने उहाँ त्यति राम्रो मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित नै बन्नुहुन्नथ्यो । शेखर कोइराला संकीर्ण व्यक्ति हो भने उहाँले पार्टी सभापति पदमा कसरी ४० प्रतिशत मत ल्याउनुभयो ? उहाँलाई मत दिने सबै संकीर्ण हुन् ? याद राख्नुहोस्, शेखर कोइराला पार्टी सभापति पदका निकटतम प्रतिस्पर्धी हो । कांग्रेसभित्र चुनावमा पराजित हुनेलाई समाप्त पार्ने चलन छैन बरु उच्च कदर गरिन्छ । चुनावमा शेरबहादुर देउवालाई शेखर कोइरालाले हराउन औपचारिक प्रयास गर्नुभएको हो तर शेरबहादुरले जित्नुभयो ।
शेरबहादुर देउवा सभापति बन्नुभएपछि केके भयो ? त्यो पनि हेरौं । अघिल्लो कार्यकालमा पनि देउवा सभापति हुनुहुन्थ्यो । उहाँलाई केन्द्रीय समितिको वैठक चलाउन सजिलो थिएन । टेबल ठोकिन्थ्यो, वैठक चल्न दिइँदैनथ्यो, वैठक बहिष्कार गर्छाैं भनिन्थ्यो । पार्टी चलाउन उहाँलाई धेरै गाह्रो थियो । त्यस अघि सुशील कोइरालाको पालामा पनि पार्टी चलाउन गाह्रो थियो । पहिले पहिले यति सजिलोसँग पार्टी चल्थ्यो ? यति सजिलोसँग वैठक चल्थ्यो ? इतिहासमै यति सजिलोसँग पार्टी चलेको, वैठक चलेको अहिले हो । र, यो सबै निकटतम् प्रतिस्पर्धी शेखर कोइरालाको कारणले हो । विगतमा निकटतम प्रतिस्पर्धीले सभापतिलाई कति दुःख दिन्थे भन्ने सम्झनुहोस् र अहिलेको अवस्था पनि हेर्नुहोस् । यति उदार र सहयोगी शेखर कोइरालालाई संकीर्ण भन्न मिल्छ ? यो कुरा पनि ध्यान दिन अनुरोध छ ।
हाम्रा नेताहरु मानिस हो, अनेक कमजोरी छ तर उहाँहरुमा छुद्रता र संकीर्णता छैन भनेर म ठोकेर भन्न सक्छु । हाम्रा नेताहरुको उदारता नदेख्ने तर संकीर्णता मात्र देख्ने प्रवृत्ति पनि ठिक होइन भन्ने मेरो ठम्याइ छ ।
दिनेश कोइराला
केन्द्रीय सदस्य, नेपाली कांग्रेस