Harsamaya
पाठेघर र सृष्टिको मन्दिर
ग्राफिक्स : हर समय/Har Samaya

सृष्टि आफैँमा एक अनुपम रहस्य हो। त्यो रहस्यको मूलमा छ पाठेघर। यही पाठेघर हो, जसले जीवनलाई निरन्तरता दिएको छ, जहाँ जीवन अङ्कुराउँछ, बढ्छ, फक्रिन्छ र तातेताते गर्दै यो धर्तीमा उभिएर आफ्नो पहिलो पाइला चाल्छ।

यस पाठेघरबाट हरेक महिना बग्ने रगत जसलाई हामी महिनावारी भन्छौ जुन कुनै अपवित्रताको संकेत होइन, बरु सृष्टिको निरन्तरताको सुन्दर र जैविक चक्र हो। तर विडम्बना के छ भने समाजले यहीँ पवित्र रगतलाई 'अशुद्ध',पापी' र 'छुवाछुतको रूपमा चित्रित गर्दै आएको छ र दुर्भाग्यवश अझै पनि गरिरहेको छ।

हिमालका चिसा हिमतालदेखि पहाडका खोचँ हुँदै तराईका समथर फाँट हुँदै बग्ने त्यो रगत जब गङ्गासँग मिसिएर समुद्रसम्म पुग्छ त्यो रगत कसरी कुनै साधारण रगत हुन सक्छ? त्यो रगत त सृष्टिको नवीकरणलाई आफूभित्र बोकेर बगिरहेको जीवनको मूलधारा हो।

महिनावारीको रगत सृष्टिको चक्रको अभिन्न अङ्ग हो। यही प्रक्रिया हो जसले महिलालाई सन्तान उत्पादन गर्ने क्षमता दिएको छ। यही रगत नै भविष्यको जीवनको आधार हो। यदि यो रगत नहुने हो भने सृष्टिका आँखा सधैँका लागि बन्द हुने थिएनन् र ? नयाँ जीवनको उदय, नव बिहानीको प्रतीक्षा, मानव अस्तित्व नै सबथोक अर्थहीन हुने थिएन र?

तर विडम्बना र दुर्भाग्यको कुरा के छ भने यही रगत बोकेकी किशोरीलाई , महिलालाई आज पनि समाजले हेपेको छ, अपमान गरेको छ। महिनावारी हुनु कुनै अपराध होइन, न त यो लाज मान्नुपर्ने कुरा नै हो। यो त प्रकृतिको अनुपम देन हो जसलाई विज्ञानले समेत पुष्टि गरिसकेको छ।

तर यति पवित्र प्रक्रियालाई समाजले शताब्दियौंदेखि 'अशुद्ध' र 'पाप' को रूपमा चित्रित गर्दै आयो र आइरहेको छ। पाठेघर बोकेको शरीरले महिनावारी अनुभव गरेबापत 'पापिनी' को तक्मा उपहारको रूपमा पाउनु पर्छ भने सृष्टीकर्तामाथीको त्यो भन्दा ठूलो अन्याय अरू के हुन सक्छ?

के यस्तो भेदभावपूर्ण सोच कुनै दयालु सृष्‍टिकर्ताले बनाएको हो त? निश्चय पनि होइन। यो त मानव समाजले, खासगरी पितृसत्तात्मक सोचले महिलालाई नियन्त्रणमा राख्ने उद्देश्यले सिर्जना गरेको गहिरो षड्यन्त्र हो। जसलाई अबका चेतनशील पुस्ताले चुनौती दिनै पर्छ। 

हामीले प्रश्न गर्नै पर्छ आफू जन्मिने प्रक्रियामा संलग्न रगतलाई सम्मान गर्न नसक्नेहरूले के साँच्चै मानवताको सम्मान गर्न सक्छन् ? त्यसैले आजको आवश्यकता हो नयाँ पुस्तालाई यस्ता कुरितीबाट मुक्त गराउने। 

महिनावारीको रगत जसले जीवन सृजना गर्छ, त्यो अशुद्ध हुनै सक्दैन। हामीले हाम्रा आमा, बहिनी, छोरीहरूप्रतिको दृष्टिकोण परिवर्तन गर्नु पर्छ र भन्नै पर्छ महिनावारी कुनै लाज होइन यो त गर्वको कुरा हो । यो विषयलाई लुकाएर, यसप्रतिको घृणा फैलाएर हामीले विज्ञान, मानवता र सभ्यताको विरोध गरिरहेका छौँ। अब हामीले यसलाई खुलेर बुझ्न, बुझाउन र यसको सामान्यीकरण गर्नुपर्ने समय आइ सकेको छ।

यस्को लागि विद्यालयदेखि घरसम्म, धर्मस्थलदेखि राज्यसम्म महिनावारीप्रतिको हेर्ने  दृष्टिकोण परिवर्तन हुनुपर्छ। किशोरीहरूलाई आत्मसम्मानसहित महिनावारीको सामना गर्न सिकाउनुपर्छ। त्यस्तै, केटाहरूलाई पनि यस्ता विषयमा शिक्षित गराइनुपर्छ, ताकि उनीहरू संवेदनशील बनून्, नकि हाँसो वा घृणाको पात्र बनाउँन्। यसका लागि वैज्ञानिक दृष्टिकोण, खुला संवाद र शिक्षा नै सबैभन्दा बलियो हतियार हुन्।

अन्ततः, पाठेघर भनेको सृष्टिको मन्दिर हो। महिनावारी त्यसै मन्दिरबाट सिञ्चित पवित्र जलधारा हो जहाँबाट जीवनको मूलधारा अविरल बगिरह्ये बगिरहेछ र बगिरहनेछ । त्यसैले यसलाई अशुद्ध ठहर्याउनु भनेको सृष्टिलाइनै अपमान गर्नु हो। 

त्यसैले अब हामी सबै मिलेर नयाँ चेतनाको इतिहास रच्न जरूरी छ। जहाँ महिनावारी कुनै अपमानको होइन सम्मानको विषय बनोस् । हो महिनावारीलाई मर्यादित बनाएर मात्र हामीले साँचो अर्थमा सभ्य  समाज र विज्ञानमैत्री समाजको परिकल्पना गर्न सक्छौँ ।-रूपा थापा

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update