Harsamaya
आसन्न निर्वाचनमा विदेशबाट मतदान कति संभव ?
ग्राफिक्सः हर समय/harsamaya

मुलुकमा यति बेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरूलाई कसरी सहभागी गराउने भन्नेबारे व्यापक बहस छ ।

हुन त निर्वाचन लोकतन्त्रको महायज्ञ हो । यस्तो महायज्ञमा देशका सबै नागरिकको अनिवार्य सहभागिता आवश्यक ठानिन्छ । लोकतन्त्रको सुन्दरता भनेको पनि हरेक निर्वाचनमा हरेक नागरिकको समान सहभागिता हुनुपर्छ भन्ने हो । निर्वाचनमा कोही पनि नागरिक छुट्नुलाई न्यायिक मान्न सकिँदैन ।

किनकि नेपालमा राणा कालमै पनि प्रधानमन्त्री पद्यमशमसेर राणाले ‘म्युनिसिप्यालिटी’को निर्वाचन गराएका थिए र काठमाडौंबासीलाई मतदानमा सरिक गराएका थिए । अन्तर्राष्ट्रिय जगतमा आएको स्वाधीनता र स्वतन्त्रताको लहरबाट अलग हुन नसक्ने भएपछि राणाले मताधिकारको प्रयोग गराएका थिए । राणा कालमा विश्वमा लोकतन्त्रको लहर आइसकेकाले निर्वाचन अनिवार्य मानियो । त्यसैले त्यस बेला मताधिकारको प्रयोगबारे बहस सुरु भइसकेको तथ्य पाइन्छ । मताधिकारले धनी–गरिब, वर्ग, समुदाय केही भन्दैन । सबैको समान सहभागिता हुनुपर्छ भनिन्छ । शासन व्यवस्थाका लागि योग्य प्रतिनिधि चयन गर्न मतदानमा सबैको सहभागिता खोज्ने चलन छ ।

विशेषतः यति बेला बहसको विषय भने विदेशमा बस्ने करिब ६० लाख नेपालीलाई मताधिकार कसरी दिलाउने भन्ने हो । गैर आवासीय नेपाली संघ (एनआरएनए), राजनीतिक दल सम्बद्ध विदेशका भातृ संगठनहरूले विदेशमा बस्ने नेपालीहरूका निम्ति विशेष गरी नागरिकता र मताधिकारको विषयलाई जोडतोडले उठाइरहेका छन् । हुन त मत हाल्ने अधिकार नागरिकको मौलिक अधिकार हो यस विषयमा को नागरिक कुन भूगोलमा बस्छ भन्ने कुराले प्रभावित नहुनु पर्ने हो ।

किनकि पाँच  वर्ष अघि नै सर्वोच्च अदालतले कानुनी व्यवस्था गरी विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्देशनात्मक आदेश दिइसकेको छ । अदालतको आदेश र नेपालको संविधानले व्यवस्था गरेको अधिकार विश्वभरका नेपाली नागरिकका लागि हर्षको विषय हो ।

तर‚ जब देशमा आवधिक निर्वाचनको प्रसङ्ग चल्छ वा निर्वाचन नजिकिन्छ विदेशका नेपालीहरूका लागि मताधिकारको बहस चर्किन्छ । निर्वाचन सकिन्छ मताधिकारको कुरा सेलाउँछ । करिब डेढ दशकदेखि यही क्रम निरन्तर चलिरहेको छ ।

नेपालका सबै राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणा पत्रमा मताधिकारको मुद्दा प्राथमिकताका साथ उठाउने गरेका छन् । दलहरूले चुनावी घोषणापत्रमा विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिने प्रस्ताव अनिवार्य ठानेका छन् । यस सन्दर्भमा विभिन्न निकायले उपयुक्त बाटोहरू देखाइदिइरहेका छन् । जेनजी पुस्ताले पनि यस पटक मताधिकारको कुरा जोडतोडले उठाइरहेका छन् ।

तर‚ कानुनी जटिलता फुकाउने सवालमा अन्तरिम सरकारले कसरी काम गर्छ त्यो भने महत्त्वपूर्ण पाटो हो । हुन त नेपालको पहिलो आम चुनावमा नै विदेशमा रहेका नेपालीलाई मताधिकारको कुरा उठेको तथ्य पाइन्छ । वि.स. २०१५ सालको चुनावमा कांग्रेस र कम्युनिष्टहरुले आफ्नो घोषणापत्रमा ‘प्रवासबाट भोट’ भनेर चुवानी प्रचार नै गरेका थिए । त्यसयता विश्वका एकसय बढी देशमा नेपालीहरू पुगिसकेका छन् । ८७ देशमा एनआरएनए नै विस्तार भएको छ । यकिन तथ्याङ्क नभए पनि विश्वभर लगभग ६० लाख नेपाली बसोबास गर्छन् । ६० लाख नेपाली मताधिकारबाट वञ्चित हुनु भनेको दुर्भाग्यपूर्ण कुरा हो ।

सर्वोच्च अदालतले निर्देशन जारी गरेको पाँच वर्ष बितिसक्दा पनि विदेशमा रहेका नेपाली नागरिकले निर्वाचनमा भाग लिन पाउने सम्भावनालाई विगतका सरकारले प्राथमिकतामा दिनै सकेनन् । निर्वाचन आयोग र सरकारले सम्भाव्यता अध्ययन मात्र गरेको छ । कानुन बनाएर प्रक्रिया अघि बढाएको छैन । मताधिकारको प्रयोग त गर्ने तर कुन विधि प्रक्रियाबाट गर्ने भन्ने प्रस्ट छैन । किनकि नेपालमै सबै नागरिकलाई मतदानमा सरिक गराउन निर्वाचन आयोगलाई हम्मे परिरहेको छ । विदेशमा रहेका मतदाता मतदान गर्न तोकिएको स्थानमा पुग्छन् वा जुनसुकै भूगोलबाट भए पनि मतदानमा सहभागी हुन्छन् भन्ने प्रश्न गम्भीर छ । विदेशको कुरा छाडौँ स्वदेशमै रहेका कति मतदाता मत खसाल्न जान्छन् वा निर्वाचनमा सहभागी हुन्छन्, यो अध्ययनको विषय हो ।  

अहिलेसम्मको प्रयास

विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकार प्रदान गर्ने सवालमा शीर्ष राजनीतिक दलहरू सैद्धान्तिक रूपमा गम्भीर देखिन्छन् । सरकारले पनि यस विषयमा विभिन्न छलफलहरू चलाइरहेको छ । मतदान गर्ने काम संवेदनशील भएकाले कुन विधि र प्रक्रिया अपनाउने भन्नेमा अन्योल छ । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो यसमा असम्भव भने पक्कै छैन । मात्र इच्छाशक्तिको खाँचो छ । २०३६ सालको जनमत संग्रहमा सरकारले विदेशमा रहेका नेपालीहरुलाई मतदान प्रक्रियामा सहभागी गराएको इतिहास छ ।

त्यो नजिर आजका लागि सान्दर्भिक हुनसक्छ । त्यस बेला भारत, अस्ट्रेलिया, जापान, बेलायत र अमेरिका र एसियाको केही देश गरी नौ वटा देशमा रहेको नेपालीहरूले विदेशबाट मतदान गरेका थिए । नेपालका ट्रेड युनियन संस्थाहरूले विदेशमा बसोबास गर्दै आएका नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउन आधा दर्जन प्रतिवेदन सरकारलाई बुझाइसकेको तथ्य छ ।

निवर्तमान संसद्को अन्तर्राष्ट्रिय श्रम व्यवस्थापन समितिको संसदीय टोलीले २०७२ सालमा खाडी मुलुक र मलेसियासहितका अन्य देशमा रहेका नेपालीहरूलाई कसरी मतदान प्रक्रियामा सहभागी गराउन सकिन्छ भनी अध्ययन गरेर सरकारलाई बुझाइसकेको छ । निर्वाचन आयोगले पनि २०६९ साल र त्यसपछिका वर्षहरूमा पटक पटक विभिन्न देशमा पुगेर अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । ती अध्ययनहरूको निष्कर्ष मताधिकार तत्काल संभव नभएको र प्रक्रिया कठिन भएको यद्यपि प्रयास जारी राख्नुपर्ने भन्ने थियो ।

यता, राजनीतिक दलहरू निर्वाचनसम्बन्धी एकीकृत ऐन र नियमावली जारी गरी मताधिकार प्रदान गर्नुपर्ने पक्षमा छन् । तर प्रक्रिया अघि बढाउन सबै निकाय तइँ चुप, मैँ चुपको अवस्थामा छन् । कानुन निर्माण गर्न र रणनीति बनाउन सबै निकाय चुपचाप छन् । कारण, विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउने विषय सामान्य होइन । गम्भीर र संवेदनशील विषय हो । कानुनी, व्यवहारिक र आर्थिक व्ययभारको समस्याहरू प्रशस्त छन् । 

मताधिकारको संभावना

विदेशमा बस्ने नेपालीहरूका लागि मतदानको व्यवस्था मिलाउने विषय बढी झन्झटिलो छ । तत्कालीन अवस्थामा नेपाली दूतावास र नियोगमा मतदान केन्द्र स्थापना गरिएमा बाहेक विदेशमा रहेका नेपालीले निर्वाचनमा भाग लिन पाउने अवस्था देखिँदैन । नेपालीहरू छरिएर रहेका करिब १ सय ४० देश सबैमा नेपाली दूतावास वा नियोगहरू स्थापना भएका छैनन् । त्यसो हुँदा विश्वभरका सबै नेपालीले मतदानको अधिकार प्रयोग गर्छन् भन्नेमा ग्यारेन्टी छैन । 

कतिपयले हुलाकमार्फत मतदान, दूतावास तथा कन्सुलरको कार्यालयमा मतपेटिका राखेर गरिने मतदान, कोडको प्रयोग गरेर मोबाइलबाट गरिने मतदान, आइ–भोटिङ (इन्टरनेटमा आधारित मतदान)लगायतका विकल्पहरू भए पनि विश्वसनीय नहुने, खर्चिलो हुने र मतदाताहरूको सहभागिता नहुने चुनौतीहरू थपिएका छन् । 

विकासोन्मुख देशहरूले विदेशमा रहेका आफ्ना नागरिकहरूलाई मताधिकार दिन सकेको तथ्य न्यून मात्र पाउन सकिन्छ । कतिपय देशले प्रक्रिया नै स्थगित गरेका छन् । एकाध बाहेक अधिकांश विकासशील देशहरूले पनि मताधिकारका सवालमा त्यति चिन्तित भएको पाइँदैन । 

प्रक्रिया जटिल

मतदान वा मताधिकारका लागि विभिन्न विकल्पहरू रहे पनि तत्कालै नेपालले ती विकल्पहरूको अँगाल्न सक्ने परिस्थिति देखिएको छैन । मतदाता नामावली सङ्कलन देखि आधिकारिक कागजपत्र व्यवस्थापनका सवालमा पनि थुप्रै जटिलताहरू देखिएका छन् । किनकि गैर आवासीय नेपालीहरूलाई नागरिकता प्रदान गर्ने विषय नै थातीको अवस्थामा छ । यी सबै विषयका लागि प्रथमतः राष्ट्रिय नीति आवश्यक पर्छ । हचुवामा प्रक्रिया अघि बढाउँदा बिचैमा दुर्घटना निम्तिने खतरा पनि देखिन्छ । 

क्षेत्राधिकारका सवालमा पनि प्रस्ट हुनु जरुरी छ । मतदान अधिकार स्थानीय तह, प्रदेश सभा र संघीय संसद्मध्ये कुन–कुनमा दिने भन्ने प्रस्ट हुनुपर्ने देखिएको छ । प्रदेश वा संघीय संसद्, समानुपातिक मात्रै कि प्रत्यक्ष निर्वाचनको अधिकारका विषयमा स्पष्ट भई सोही अनुरूपको मतपत्रको व्यवस्था गर्न निर्वाचन आयोग सक्षम छ कि छैन भन्ने विषय प्रधान बन्न सक्छ । सम्बन्धित देशको स्वीकृति लिने सवालमा पनि ठुला चुनौतीहरू देखिएका छन् ।

कतिपय देशमा निर्वाचनकै अधिकार नभएकाले यस्तो अवस्थामा नेपालीहरूका लागि कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यसको अध्ययन हुनु जरुरी छ । मताधिकार कसलाई र के कागजातका आधारमा दिने भन्ने विषय थप पेचिलो बनेको छ । विभिन्न प्रकृतिका नेपालीमध्ये विद्यार्थी, कामदार, पिआरवाला, सम्बन्धित देशको नागरिकता लिइसकेका नेपाली साथै अवैध रूपमा बसोबास गरिरहेका सवालमा के गर्ने भन्ने विषय गम्भीर छ । मतपेटिकाको सुरक्षा र जनशक्ति व्यवस्थापन झनै कठिन देखिन्छ । 

सबै देशमा कर्मचारी व्यवस्थापन गर्न सरकारको ढुकुटीले धान्न नसक्ने प्रस्ट छ । निर्वाचन अनुगमन तथा पर्यवेक्षण, मतदाता शिक्षा आदीको सवाल थप जटिल देखिएको छ । साथै सबैभन्दा ठुलो समस्या भनेको आर्थिक व्यवस्थापन देखिन्छ । विदेशमा मतदानको व्यवस्था मिलाउने कुरा शून्यदेखि सुरु गर्नुपर्छ । त्यसका लागि निर्वाचन आयोगले कानुन संशोधनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

निर्वाचन गराउन र मताधिकार दिने सवालमा आयोगसमक्ष एकै पटक सबै देश र स्थानमा मतदानको व्यवस्था गर्न प्राविधिक र व्यवस्थापकीय जटिलता देखा परेका छन् । व्यवस्थापकीय, सञ्चालन, राजनीतिक, नीतिगत र सुरक्षाको विषय प्रमुख चुनौती छन् । नामावली दर्ता र अन्तिम नामावली प्रकाशनको अर्को जटिलता छ । कूटनीतिक नियोगमा जनशक्तिको अभाव र गैर आवासीय नेपाली संघमा देखिएको विभाजनको अवस्थाले स्रोत जुटाउन अर्को चुनौती देखिने प्रस्ट छ । यी सबै जटिलता र चुनौतिहरुसँग जुधेर मताधिकार दिलाउन आयोगले तत्कालै एक्सन लिनुपर्छ । 

(लेखक युवराज गौतम नेपाल प्रेश युनियनका उपमहासचिव हुन्।)

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update