धनगढी - लम्कीचुहा नगरपालिकाको लम्कीचुहा अस्पतालमा प्रदेश सरकारबाट भएको एकपक्षीय हस्तक्षेपप्रति लम्कीचुहा अस्पताल विकास समतिले आपति जनाएको छ । समितिका अध्यक्ष सुशीला शाहीले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहसँग छलफल नै नगरी एकतर्फी रुपमा अस्पताल व्यवस्थापन समिति गठन गरिएको प्रत्ति आपति जनाएकी हुन् ।
‘प्रदेश सरकारले समिति गठन गरेको केही सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक भएको र उक्त समितिले नगरपालिका तथा अस्पतालका जिम्मेवार प्रतिनिधिहरू अनुपस्थित रहेको अवस्थामा अस्पताल परिसरमा जबरजस्ती प्रवेश गरी हुलदंगा गर्ने, कर्मचारीहरूलाई धम्की दिने र आफूलाई आधिकारिक समिति घोषणा गरी पदभार गर्नेलगायतका गतिविधि भएको प्रति हाम्रो गाम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश सरकारको निर्देशनमा हुने यस्ता अराजक र एकतर्फी गतिविधि गरिनु नैतिक, कानुनी र व्यवहारिक दृष्टिले उचित नहुने अस्पताल समितिको ठहर छ । समितिले आगामी दिनमा यस्ता गतिविधि भए कानुनी उपचारमा जाने चेतावनी दिएको छ ।
लम्कीचुहा अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गर्न लम्कीचुहा नगरकार्यपालिकाबाट २०८१ कातिक ११ गते नै निर्णय भएको थियो । यस विषयमा सुदूरपश्चिम सरकार र लम्कीचुहा नगरपालिकाबीच कानुनी र प्रक्रियागत विषयहरूमा छलफल भई समझदारी पत्रमा सहमति भइ हस्ताक्षर भएपछि मात्र बाँकी काम अगाडि बढ्ने स्पष्ट आधार रहेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले स्थानीय तह र सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको औँल्याउँदै अनावश्यक विवाद नगर्न आग्रह गरेको छ। साथै, स्वास्थ्यजस्तो संवेदनशील विषयमा राजनीतिक वा अन्य स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएको छ।
अस्पताल विकास समितिकी अध्यक्ष शाहीले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पताल स्तरोन्नति कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षलाई सहयोग गर्न अपिल गरेकी छिन् ।
प्रदेश सरकारले अस्पताल अध्यक्षमा लम्कीचुहा नगरपालिका–२ गणेशपुर निवासी राम बहादुर बिष्टलाई नियुक्त गरेको थियो । अस्पताल व्यवस्थापन समितिमा अन्य सदस्यहरूमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वार रहेका छन् । मेयर शाही नै अस्पताल व्यवस्थापन अध्यक्ष रहदा रहदै कुनै सरसल्लाहविना प्रदेशले नियुक्ति गरेपछि विवाद बढेको हो ।


