काठमाडौं - प्रज्ञा कुञ्ज विद्यालयमा ‘नाटक सप्ताह’ कार्यक्रम भव्य रूपमा भइरहेको छ । सन् २०१३ देखि निरन्तर सञ्चालन हुँदै आएको उक्त कार्यक्रम यो वर्ष पनि सुरु भएको हो । आइतबारदेखि सुरु भएको नाटक सप्ताह आजसम्म पनि जारी छ ।
नाटक सप्ताहअन्तर्गत कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूले कुल १७ वटा नाटक प्रस्तुत गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ। कार्यक्रममा रंगमञ्चसँग आबद्ध कलाकारहरूको समेत सहभागिता रहेको छ।
रंगकर्मी पवित्रा खड्काले विद्यालयस्तरबाटै नाटक र रंगमञ्चको संस्कार विकास गरिनु सकारात्मक भएको बताइन्। उनले नयाँ सरकारले कला क्षेत्रलाई थप प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्दै विद्यालयबाटै नाटक सुरु हुँदा समाजमा सकारात्मक चेतना फैलिने विश्वास व्यक्त गरिन्। ‘स्कुलबाट यसरी नै नाटक/रंगमन्च शुरु भयो भने चाहिँ पछि गएर समाजमा एउटा छुट्टै खालको चेतना आउने देखिन्छ’, उनले भनिन् ।

यस्तै, चलचित्र निर्देशक प्रदीप भट्टराईले बालबालिकालाई समेटेर तयार गरिएका नाटकहरू रोचक र प्रभावकारी भएको बताए। ‘कहिले हाँसियो, कहिले भावुक पनि भयौँ, निकै रमाइलो अनुभव भयो,’उनले भने।
उनका अनुसार नाटकले बालबालिकाको पढाइ मात्र होइन, विभिन्न सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै उनीहरूलाई तनावमुक्त बनाउन मद्दत पुर्याउँछ। साथै, नाटकमार्फत जीवन व्यवस्थापन, सहकार्य र आत्मविश्वास जस्ता सीप पनि सिकाइने गरिएको छ।
‘बच्चाहरुले यो नाटक मात्र होइन कि नाटक पछाडिका कुराहरुमा जिन्दगी म्यानेज गर्ने कुराहरु पनि सिकी रहेको हुन्छ र यो कुरा प्रज्ञा कुन्जले शुरु गरेको छ यो सबै स्कुलहरुमा अनिवार्य हुनुपर्छ’, उनले भने ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ कलाकार रबी गिरी र सरोज खनाल सहभागी भएका थिए । रंगमञ्च, टेलिभिजन र चलचित्र क्षेत्रमा लामो समय योगदान दिएका उनीहरूको उपस्थितिले कार्यक्रममा विशेष ऊर्जा थपिएको थियो। बालबालिकाको प्रस्तुति आत्मविश्वासपूर्ण, सिर्जनशील र प्रभावकारी रहेको आयोजकले जनाएको छ।
नेपाल फिल्म क्याम्पसको थिएटर हलमा सञ्चालन भइरहेको नाटक सप्ताह आज सकिदैं छ। यस कार्यक्रमले विद्यार्थीहरूको सिर्जनात्मकता अभिव्यक्त गर्न, आत्मविश्वास बढाउन र रंगमञ्चीय अनुभव हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालयले विश्वास गरेको छ ।

