
वीरगञ्ज - भूमिगत आर्थिक कारोबारमाथि प्रहरीले कडा निगरानी बढाएसँगै पर्सा र बाराका तीन जना व्यक्तिहरू स्रोत नखुलेको झण्डै २९ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रहरूबाट तीन जनालाई फरक–फरक स्थानबाट हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा पक्राउ गरेको हो। प्रहरीका अनुसार, पक्राउ परेका अनिल वर्णवाल, विनितकुमार श्रीवास्तव र दीपककुमार सोनारसँग क्रमशः रु ९ लाख ४७ हजार, रु १५ लाख ८१ हजार र रु ३ लाख नगद फेला परेको छ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबार मुद्दामा पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।
पक्राउ परेका मध्ये एकजना बाराको परवानीपुरका स्थायी बासिन्दा हुन् भने दुई जना वीरगञ्ज र आसपासका क्षेत्रका हुन्। बढ्दो गैरकानुनी आर्थिक कारोबारलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरू सक्रिय बनेको देखिएको छ।