
काठमाडौं - सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँकी १६ वर्षीया किशोरी निशा तामाङको बलात्कारपछि हत्यामा आफ्नै आफन्तहरूको संलग्नतामा भएको रहस्य खुलेको छ। नेपाल प्रहरीको अनुसन्धानबाट पाँच जना आरोपितहरू पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भोटेकोशी–५ का निमा तेन्जिङ तामाङ (२१), वाङनिमा तामाङ (२२), नामग्याल शेर्पा (३२), दावा तामाङ (२०) र लाक्पा पासाङ तामाङ (२२) रहेका छन्। अनुसन्धान अनुसार, असार १० गते राति करिब ९ बजे उनीहरूले निशालाई घरबाट बोलाई ४ सय मिटर माथिको मकैबारीमा लगेर सामूहिक बलात्कार गरेपछि हत्या गरी शव जङ्गलको भिरबाट फालेका थिए।
घटनास्थल नजिकै शव अड्किएको देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सुरु भएको अनुसन्धानमा काठमाडौंबाट तालिम प्राप्त दुईवटा कुकुर—‘टाइगर’ र ‘रोज’—को मद्दत लिइएको थियो।
प्रहरी कुकुर 'टाइगर'ले प्रमुख अभियुक्त निमा तामाङको घरतर्फ संकेत गरेपछि उनी नियन्त्रणमा लिइए। शुरुमा काल्पनिक व्याख्या गर्दै अनुसन्धानलाई अन्यत्र मोड्ने प्रयास गरेका निमा अन्ततः दोष स्वीकार्दै बाँकी चार जना साथीसहित मिलेर हत्या गरेको बयान दिएका छन्।
अनुसन्धान अनुसार, घटना भएको दिन मदिरा सेवनपछि आरोपीहरूले निशालाई बोलाएर मकैबारी लगेका थिए। प्रारम्भिक अनुसन्धानले बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ। घटनास्थलमा किशोरीका कपडा छरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
मृतक किशोरी पदम बहादुर तामाङकी छोरी थिइन् । उनी कक्षा ७ मा पढ्दै थिइन् । पाँचै जना आरोपीहरू पीडित परिवारका आफन्त पर्न आएका छन् ।
शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको छ। पाँचै जनालाई ७ दिनको म्याद लिएर सिन्धुपाल्चोक प्रहरीले अनुसन्धान गरिरहेको छ।
एसपी रामेश्वर कार्कीका अनुसार, घटनामा प्रयोग भएका तथ्य, कुकुरको सहयोग र अभियुक्तहरूको बयानका आधारमा अनुसन्धानलाई थप सशक्त बनाइँदैछ।