काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३ किलो लागुऔषध थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा खटिएको प्रहरी टोलीले २०८३ कात्तिक २८ गते भारतको दिल्लीबाट नेपाल आएका २२ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
भारतको उत्तर प्रदेश ठेगाना भएका सलमानलाई शंकास्पद यात्रुको निगरानी तथा जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले साथमा ल्याएको झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखिएको ३.५ किलो थाई गाँजा बरामद भएको थियो ।
पक्राउ परेका सलमानको साथबाट एक थान पासपोर्ट र एक थान मोबाइलसमेत बरामद गरिएको छ ।
घटनाबारे लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

