Harsamaya
त्रिभुवन विमानस्थलबाट २२ करोडको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - लागुऔषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका मुख्य व्यक्तिलाई ५.५ किलो सेतो हेरोइनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । पक्राउ पर्ने भारतीय नागरिकले खरायो र बिरालोको खानाको प्याकेटभित्र लुकाएर हेरोइन ल्याएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा खटिएको प्रहरी टोलीले २०८३ कात्तिक २८ गते थाइल्यान्डबाट नेपाल आएका भारतीय नागरिकलाई शंकास्पद यात्रुको निगरानी तथा जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारतको महाराष्ट्र, पुणे ठेगाना भएका ५२ वर्षीय रेवराज तिघारे (REWARAJ TIGHARE) लाई चेकजाँच गर्दा उनले साथमा ल्याएको झोलाभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाइएको ५.५ किलो सेतो हेरोइन फेला परेको थियो ।

पक्राउ परेका व्यक्तिको साथबाट एक थान पासपोर्ट र एक थान मोबाइलसमेत बरामद गरिएको छ । घटनाबारे लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको छ ।
 
नेपाललाई ट्रान्जिट बनाएर लागुऔषध ओसारपसार

प्रहरी अनुसन्धानबाट पक्राउ परेका तिघारे अन्तर्राष्ट्रिय लागुऔषध कारोबारी सञ्जालका मुख्य व्यक्ति रहेको खुलेको छ । उनी यसअघि पनि दुई पटक नेपाल आएको अनुसन्धानबाट देखिएको छ ।

प्रहरीका अनुसार उनी सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएका थिए । पहिलो पटक नेपालबाट हवाई मार्ग हुँदै र दोस्रो पटक स्थलमार्ग हुँदै भारतसम्म लागुऔषध पुर्‍याएको बताइएको छ ।

उनले लाओससहित जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरिसकेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका तिघारेको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

२२ करोड रुपैयाँको हेरोइन
प्रहरीका अनुसार बरामद ५.५ किलो सेतो हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले २२ करोड रुपैयाँ रहेको छ । उक्त हेरोइन भारत पुगेपछि भारतीय बजारमा अझ महँगो पर्ने बताइएको छ ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार बरामद ५.५ किलो सेतो हेरोइनको कसुरमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका भारतीय नागरिकमाथि लागुऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update