Harsamaya
कांग्रेस केन्द्रीय सदस्य संजय कुमार गौतमलाई तीन प्रश्न

नेपाली कांग्रेस केन्द्रीय सदस्य संजय कुमार गौतम बर्दियाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पार्टीको विभिन्न तह र तप्कामा रहेर काम गरेका उनले ३५ वर्ष राजनीतिमा बिताए । २०२० सालमा बर्दियामा जन्मिएका गौतमले १७ वर्ष जिल्ला सभापति भएर पार्टी हाँके । तीन पटक सांसद भएका उनी सिँचाइ मन्त्रीसमेत भएका थिए । वि.सं २०३६ सालको आन्दोलनसँगै उनले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । हक्की स्वभावका गौतमले पार्टी र सरकारविरुद्ध खरो टिप्पणी गर्ने गरेका छन् । नेपाली कांग्रेसका सांसद, केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका अनुशासन समितिका सदस्यसमेत रहेका उनै गौतकसँग हर समयले गरेको तीन प्रश्न । 

सरकारको काम कारबाहीलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
सरकार जति प्रभावकारी हुनुपर्ने थियो त्यति प्रभावकारी रूपले संचालन हुन सकेको छैन । यो सरकार वास्तवमा  ‘नेचुरल कोर्स’ बाट बनेको होइन । सैद्धान्तिक र नीतिगत रूपले हेर्दा ‘फ्रस्ट लार्जेस्ट पार्टी’ र ‘सेकेण्ड लार्जेस्ट पार्टी’ एकै ठाउँमा मिलेर सरकार बनाउने भनेको ‘नेचुरल’  होइन । तर, मुलुकलाई स्थिरता दिन, संविधान संशोधन गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र सुशासनको प्रत्याभूति दिनका लागि सरकार गठन भयो । नेपथ्यमा के थियो सरकार गठन गर्नु भन्दा पहिलाका परिस्थितिहरू त्यो विवेचनाका विषयवस्तुहरू हुन्  । तर, सरकार जति बेला बन्यो त्यसले पहिलो एजेण्डा संविधान संशोधन गर्छु भन्यो । सुशासन दिन्छु भन्यो । भ्रष्टाचारलाई नियन्त्रण गर्छु भन्यो । स्थिर सरकार दिन्छु भन्यो  । 

यो सरकारलाई गल्ती गर्ने, असफल हुने छुट छैन । तर, सरकार बारम्बार गल्ती गरिरहेको छ । चुकिरहेको देखिन्छ । यो कुनै सरकारको विरोध होइन सचेत गराएको । सरकार जुन उद्देश्यका लागि बन्यो त्यसमा ध्यान केन्द्रित भएन । सरकारका लागि सरकार बनाउने हो । प्रधानमन्त्री मात्र फेर्ने हो, मन्त्रीहरू मात्र फेर्ने हो भने त छदै थियो नि । तर, विशिष्ट परिस्थितिमा बनेको हुनाले यसले ‘आउटपुट’ दियोस् भन्ने आमजनताको चाहना हो । 

संविधान संशोधन किन सुरु भएन ?  
हामी अचम्ममा परेका छौं । संविधानले संशोधन माघेको छ । यहीँ निर्वाचन प्रणालीलाई कायम राख्ने हो भने मुलुकमा स्थिर सरकार कहिल्यै दिन सक्दैनौं । एउटा पार्टीको सरकार चल्ने सम्भावना रहँदैन र पार्टीहरू गठबन्धन मै जान लालायित हुन्छन् । गठबन्धनबाट चुनाव लड्ने, गठबन्धनबाट सरकार बनाउने बाटोमा जान्छन् ।  यो निर्वाचनको  जुन प्रणाली छ सरसरती हेर्दा एकदमै समावेशी लोकतन्त्रको अभ्यास भैरहेको छ। तर, यो निर्वाचन पद्धतिबाट मुलुकले समद्धिको यात्रा तय गर्दैन । स्थिरता दिन सक्दैन । सरकार जहिले पनि ‘ह्यङ पार्लियामेन्ट’ हुन्छ । भद्रगोल भै रहन्छ । त्यस कारण यो ‘कटअफ’ जरुरी छ । 

नेपाली कांग्रेसको महाधिवेशन समयमै हुन्छ ?
नयाँ क्रियाशील सदस्यता वितरण नै भएको छैन । वैधानिक हिसाबले पार्टीको अधिवेशन आइसक्यो । २०८२ मंसिरमा सम्भव देख्दैनौं । ०८३ मा पनि सम्भव नहुने जस्तो हुन थालिसक्यो । समयमा अधिवेशन गर्यो भने पार्टीको जीवनमा जीवन आउला । प्राण आउला । वैचारिक रूपले साथीहरू आउनु होला । पार्टीलाई नियन्त्रण गर्ने एउटा कुरा हो । पार्टी निर्माण गर्ने अर्को कुरा हो । पार्टी निर्माण गरौं भन्ने अभियान हो । समग्र कांग्रेसले नै आजको आवश्यकतालाई सम्बोधन गर्न सक्छ भन्ने बुझाई हो । पार्टीले वैचारिक रूपले जहाँ-जहाँ बाटो बिराएको छ त्यो बाटोमा बिस्तारै आफूलाई सच्याओस् । विधानमा जहाँ जहाँ कमी कमजोरी छ त्यसलाई सुधारोस् । हाम्रो कुरा पार्टीलाई कमजोर गर्ने होइन । पार्टीलाई सुधार गर्ने हो । पार्टीलाई राम्रो बनाउने, समयमा अधिवेशन गर्ने हो । कसैको विरोध होइन नि । 

 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update