Harsamaya
वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् । 

पक्राउ परेकामध्ये जगदिशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, डिल बहादुरले सर्बिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५ लाख १० हजार रूपैयाँ र प्रेम कुमारले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जगदिशथलाई काठमाडौं महानगरपालिका-७ बाट, डिल बहादुरलाई काठमाडौं महानगरपालिका-४ बाट र प्रेम कुमारलाई काठमाडौं टोखा नगरपालिका-७ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update