Harsamaya
पेट्रोलियम पदार्थको राजस्वले भरियो वीरगञ्ज भन्सार कोष, ११ महिनामै ७३ अर्ब राजस्व
पेट्रोलियम पदार्थ बोकेको सवारी साधन ।तस्वीर: हर समय/Har Samaya

वीरगञ्ज - चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वीरगञ्ज भन्सार कार्यालयले संकलन गरेको कुल राजस्वमा पेट्रोलियम पदार्थको योगदानले सबैलाई चकित पारेको छ। कुल राजस्वको झन्डै आधा हिस्सा अर्थात् ४६.४३ प्रतिशत हिस्सा यहीँ वस्तुबाट आएको छ। कार्यालयले पेट्रोलियम पदार्थको आयातबाट मात्र ७३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालू आवमा पाँच थरीका पेट्रोलियम पदार्थ आयात गर्न एक खर्ब ७४ अर्ब नौ करोड रुपैयाँ खर्च गरिएको छ।

पेट्रोलियमपछि सबभन्दा धेरै राजस्व दिने वस्तु सवारीसाधन र तिनका पार्टपुर्जा रहेका छन्, जसबाट १७ अर्ब ७० करोड रुपैयाँ संकलन भएको छ।

फलाम तथा फलामजन्य सामग्रीबाट ५ अर्ब ७८ करोड, मेसिनरी तथा पार्टपुर्जाबाट ५ अर्ब २६ करोड, इलेक्ट्रिक उपकरण र तिनका पार्टपुर्जाबाट ३ अर्ब ६७ करोड संकलन भएको जानकारी दिँदै लामिछानेले थपे  ‘देशको आयातमा पेट्रोलियम, सवारीसाधन र मेसिनरीको हिस्सा निकै महत्त्वपूर्ण छ, जसले वीरगञ्ज भन्सारको आम्दानीको मेरुदण्ड बनेको छ।’

कपडाबाट ३ अर्ब ६ करोड, सुर्तीजन्य पदार्थबाट २ अर्ब ५८ करोड, शृङ्गार सामग्रीबाट २ अर्ब ५२ करोड, प्लास्टिकका कच्चा पदार्थबाट २ अर्ब ३२ करोड, र अन्य लुब्रिकेटिङ्ग आयलबाट २ अर्ब १९ करोड रुपैयाँ राजस्व उठेको छ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update