काठमाडौं - आइडिएस वेयर्सले आफ्नो नयाँ डिजाइनको ‘केरा गणतन्त्र’ टिसर्ट बिक्रीमा रोक लगाएको छ । साइबर ब्यूरोको आग्रहपछि टिसर्ट बिक्रीमा रोक लगाएको कम्पनीका संस्थापक सुदिपभाइ सुवेदीले बताए ।
इनडेप्थ स्टोरी तथा आईडीएस वेयर्सले एक विज्ञप्ति जारी गर्दै सरकारले उक्त डिजाइनले ‘मुलुकको शान्ति सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानमा खलल पुग्ने’ भन्दै यसको बिक्रीमा रोक लगाउन निर्देशन दिएको जनाएको छ ।
हेलो सरकारमा उजुरी परेपछि प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय हुँदै उक्त विषय ब्युरोसम्म पुगेको थियो। आइडिएस वेयर्सले भने ‘केरा गणतन्त्र’को अर्थ र ऐतिहासिक सन्दर्भ स्पष्ट पार्न प्रयास गरिए पनि राज्यले बुझ्न नचाहेको आरोप लगाएको छ।
कम्पनीले ‘केरा गणतन्त्र’ मात्र होइन,सम्पूर्ण आइडिएस वेयर्सका डिजाइनहरूपनि बन्द गरेको छ । यद्यपि, यसअघि भएका अर्डरहरू भने यसै साताभित्र वितरण गरिने जनाइएको छ।
‘केरा गणतन्त्र’ राजनीतिक रूपमा अस्थिर, भ्रष्ट र कमजोर शासन प्रणाली भएको मुलुकलाई व्यङ्ग्यात्मक रूपमा वर्णन गर्न प्रयोग हुने शब्दावली हो ।

