
काठमाडौं - आज छ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठकमा आर्थिक विधेयक मार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदन उपर छलफल गरिने कार्यसूची रहेको छ । यसका साथै आर्थिक विधेयकले प्रस्ताव गरेका कर सम्बन्धी व्यवस्था र करका दरहरूका सम्बन्धमा समसामयिक छलफल गरिनेछ ।
यस्तै ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ । दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतिमा छलफल हुनेछ ।
यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिनेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बागमती प्रदेशस्थित दोलखा लगायतका क्षेत्रहरूमा गरिएको स्थलगत अवलोकन कार्यक्रमको समीक्षा गरिनेछ ।
आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिको स्थलगत अनुगमनको समीक्षा एवम् प्रतिवेदनको मस्यौदा उपर छलफल गरिने कार्यसूची रहेको छ।