Harsamaya
कोशी प्रदेशका दुई उपमहानगरहरूमा इटहरीले ल्यायो बजेट, धरानमा विवाद कायमै
इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेको छ ।

इटहरी - सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख संगीता कुमारी चौधरीले मंगलबार नगरको १६ औँ नगर सभामा बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर चौधरीका अनुसार स्थानीय जनताको मागलाई सम्बोधन गर्दै इटहरीको समग्र विकासका लागि यो बजेट तर्जुमा गरिएको हो । बजेटमा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकता दिइएको छ ।

नगरलाई आकर्षक बनाउने उद्देश्यले सडक सौन्दर्यीकरण, रोड फर्निचर स्थापना, र पैदल यात्रुका लागि कोशी राजमार्गमा दुई आकासे पुल निर्माणको योजना समेटिएको छ । इटहरीमा बारम्बार देखिने बाढी तथा डुबान समस्या समाधान गर्न प्रकृतिमा आधारित मोडलबाट बाढी नियन्त्रणको योजना अघि सारिएको छ । इटहरीको यस वर्षको बजेट भने गत वर्षको तुलनामा १ अर्ब २ करोड रुपैयाँले घटेको हो । चालु आर्थिक वर्षमा इटहरीको बजेट ३ अर्ब ५७ करोड ८४ लाख रुपैयाँ थियो ।

उता, धरान उपमहानगरपालिकाले भने आन्तरिक विवादका कारण बजेट ल्याउन सकेको छैन । मेयर उपमेयरको विवादका साथै सदस्यहरूको असन्तुष्टिका कारण बजेट प्रस्तुतिमा अन्यौलता छाएको हो। मेयर हर्कराज राई सामाजिक संजालमा लेख्छन् ‘आज असार १० ! आज नगरसभा उद्घाटन गर्नु पर्ने हुन्छ ! सो गरौँ भन्ने मेरो एजेण्डा सहितको असार ८ गतेको कार्यपालिका बैठकमा विषय प्रवेश अगावै ज्ञापन पत्र सहितको असहमति आएको कारण उद्घाटन गर्न सकिएन ! जय देश ! जय धरान !’

 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update