Harsamaya

सामान्यतः प्रजनन क्षमता भन्नाले बच्चा जन्माउने क्षमतालाई बुझिन्छ । प्रजनन जैविक प्रक्रिया भएकाले यसमा महिला र पुरुष दुवै उत्तिकै जिम्मेवार हुन्छन् । प्रजनन क्षमता कम हुनुलाई दुई भागमा विभाजित गरिन्छ । एउटा बाझोपन वा बच्चा नै नबस्ने र दोस्रो भनेको श्रीमान–श्रीमतीमा बच्चा उत्पादन गर्ने क्षमता हुने तर सामान्य मानिसमा भन्दा कम हुने समस्या हो । वास्तवमा विगतको तुलनामा हिजोआज प्रजनन क्षमता कम हुँदै गएको पाइन्छ । 

ढिला विवाह गर्दाको जोखिम

विवाह गर्ने र बच्चा जन्माउने निश्चित उमेर हुन्छ । उमेर अनुसार प्रजनन क्षमताको मापन गरिन्छ । महिला वा पुरुषहरूमा देखिने समस्याका कारण बच्चा जन्माउने विषय केन्द्रित हुने गर्छ । महिला सम्बन्धी जति पनि रोगहरू छन्, जुन गर्भवती हुँदा होस् या बच्चा नबस्ने समस्या होस ती सबैका लागि आधुनिक प्रविधिबाट जाँच गर्न सकिन्छ ।  स्वस्थ्य बच्चा पाउने आदी विषयहरूका लागि पनि नयाँ टेक्नोलोजिबाट धेरै कुरा पत्ता लगाउन सकिन्छ । लेप्रोस्कोपी दूरबिन प्रविधिबाटै धेरै काम गर्न सकिन्छ । दूरबिन प्रविधिबाट पाठेघरमा कुनै रोग छ की छैन भनेर एंडोस्कोपी प्रविधिको प्रयोग गर्न सकिन्छ । एंडोस्कोपी प्रविधिमार्फत आन्द्राभित्र कुनै घाउ छ की छैन भनेर पनि पत्ता लगाउन सकिन्छ ।

त्यस्तै महिलामा हुने फरक रोगहरू जुन महिनावारीको समस्या, फोहोर पानी बग्ने, पाठेघर सम्बन्धी, तल्लो पेटहरू दुख्ने लगायतका विभिन्न रोगहरूको निदान आधुनिक प्रविधिमार्फत गर्न सकिन्छ । अहिले ढिला विवाह गर्ने प्रवृत्तिको विकास भएको छ । यसले जटिलताहरू निम्ताउँदै गएको छ । जति उमेर बढ्दै गयो उत्ति नै प्रजनन क्षमतामा ह्रास आउने भएकाले यसमा विशेष ध्यान दिन जरुरी छ । ३०देखि ३५ वर्षपछि बच्चा जन्माउने क्षमता कम हुदैँ जान्छ । किनभने महिलाको अण्डाको गुणस्तर उमेरसँगै घट्दै जान्छ  र उमेर बढ्दै जाँदा पाठेघर सम्बन्धी रोगहरू पनि बढी रहेको हुन्छ । यसले गर्दा पनि प्रजनन क्षमता कम हुने गर्छ । 

बच्चा नबस्ने समस्यामा महिला–पुरुष उत्तिकै जिम्मेवार 

बच्चा जन्माउन जति छिटो भयो त्यति राम्रो हो ।  बच्चा जन्माउने उपयुक्त उमेर भनेको २५ देखि ३५ वर्षसम्म हो । बच्चा बनाउने क्षमता भनेको जबसम्म महिला महिनावारी भइरहेको हुन्छ त्यो बेलासम्म हुन्छ । तर महिनावारी रोकिसकेपछि पनि बच्चा चाहियो भने त्यो बेला पनि बच्चा बस्न सक्छ । अर्को भनेको टेस्ट ट्युब बेबीको विधि पनि अपनाउन सक्छौँ । 

बच्चा नबस्ने समस्यामा जति महिलाको भूमिका हुन्छ त्यति नै पुरुषको पनि हुन्छ । हाम्रो समाजमा महिलालाई बाझोपन भयो भने अर्को विवाह गर्ने चलन छ ।   महिलाले गर्दा मात्र बच्चा नभएको भन्ने सोच पनि छ । तर यसमा दुवै जनाको उत्तिकै भूमिका हुन्छ । मेरो अनुभव अनुसार बच्चा बस्नको लागि महिलाभन्दा पुरुषको बढी भूमिका हुन्छ । तर हाम्रो समाज पुरुष प्रधान छ । कुनै पनि महिलामा महिनामा एक पटक मात्र अण्डा निस्किने गर्छ, त्यो अण्डा निस्किएको बेलामा सम्बन्ध बनाएन भने बच्चा बस्दैन । त्यो बेला पुरुषले बेवास्ता गर्ने हो भने बच्चा बस्दैनन् । यस हिसाबले पनि पुरुषको बढी भूमिका हुन्छ । 

बच्चा जन्माउने उपयुक्त उमेर 

उमेरको हिसाबमा महिला र पुरुष २५ देखि ३५ को उमेर बच्चा जन्माउने उपयुक्त उमेर हो । किनभने यो समयमा बच्चा बनाउन सक्ने क्षमता बढी हुन्छ । जति उमेर बढ्दै गयो क्षमता घट्दै जान्छ । महिनावारी भएको १४ दिनमा अण्डा लिमिट साइटमा गएपछि यो फुट्ने गर्छ । अण्डा फुटेपछि त्यो ट्युबतिर जान्छ । अण्डा भएका बेला शारीरिक सम्बन्ध राख्यो भने बच्चा बस्न सक्ने सम्भावना हुन्छ । बच्चा बन्ने भनेको नलीमा हो । शुक्रक्रिटको भेट नलीमा हुने हो । बच्चा नबस्ने कारण महिनावारी नियमित रूपमा भइरहेको छैन भने हो । डिम्बाशयमा बच्चा बनाउने अण्डा नबन्ने भयो । अर्को भनेको अहिले धेरैजसो महिलामा पिसिओएस हुन्छ । यसमा धेरै नै अण्डा बन्छ । र त्यो अण्डाहरू एक आपसमा प्रतिस्पर्धा गर्ने भएकाले गुणस्तरीय खालको अण्डा बनिसकेको हुँदैन । जसले गर्दा बच्चा बसिरहेको हुँदैन । ट्युब र अण्डाको सन्तुलन नमिल्दा पनि बच्चा हुँदैन । एकतिर ट्युब लक छ भने अर्कोतिर गएर बच्चा बस्ने भयो । तर दुईतिर लक भयो भने आइभीओतिर जान पर्ने हुन्छ ।  यदि अण्डा र ट्युब दुबैमा बच्चा बस्यो तर पनि भएन भने पाठेघरको समस्या हुन सक्छ । पाठेघरमा मासु पलाएको छ भने पनि बच्चा बस्न गाह्रो हुन्छ । 

पुरुषको हकमा भने शुक्रकिटनै उत्पादन भइरहेको छैन वा काउन्ट नै जीरो छ या काउन्ट छ भने पनि कम छ । कतिपय केसहरू महिला र पुरुष दुबैको त्यस्तो केही समस्या नहुँदा पनि बच्चा बसिरहेको हुँदैन । त्यो भनेको कुन समयमा रिलेसन राख्ने भनेर ज्ञान नहुँदा हुनसक्छ । कुन समय कुन विधि अपनाउँदा वा यौन सम्पर्क गर्ने ज्ञान नहुँदा पनि बच्चा बस्दैन । 

धुम्रपान र मध्यपानले बाँझोपनको समस्या

महिला भन्दा पुरुषमा धूम्रपान गर्ने बानी धेरै हुन्छ । यदि धूम्रपान गर्ने बानी छ भने निकोटिनले प्रजनन क्षमतामा असर गर्छ । जसले स्पमको मोडालिटि र क्षमता घटाउने गर्छ । जसले गर्दा बच्चा बस्न गाह्रो हुन्छ । मद्यपान सेवन गर्ने मानिसको पनि शुक्रकीट सुस्त हुने गर्छ  र संख्यापनि कम हुँदै जान्छ । त्यसले पनि बच्चा बस्न गाह्रो हुन्छ । यस्ता समस्या महिला र पुरुष दुबैमा हुन्छ । यसलाई हटाउन महिला र पुरुषले धूम्रपान छाड्नुपर्ने, महिलाले तौललाई नियन्त्रण गर्नुपर्ने, खानेकुराहरू धेरै नखाने र बच्चाको योजना समयमै गर्नपर्छ । त्यसको अर्को असर बाझोपन हुनसक्छ । अर्को कुरा भनेको ६ महिना वा एक वर्षमा आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्छ  ।

हुन त हिजोआज ढिलो विवाह गर्ने तर अण्डालाई संरक्षण गरेर राख्ने प्रवृत्ति आएको छ । यो महिला र पुरुष दुवैको हकमा मिल्छ । महिलाले अण्डा राख्ने हो भने पुरुषले शुक्रकीट राख्नपर्छ । पुरुषहरू रोजगारीको लागि बाहिर जानुहुन्छ, श्रीमती यतै भएका बेला महिलाको अण्डा र पुरुषको शुक्रकीट शरीरबाहिर एक प्रयोगशालामा मिलाएर टेस्ट ट्यूबबेबी बनाएर गर्भाशयमा राख्ने चलन सुरु भएको छ । 

बाझोपनको समस्या बढ्दो

बाझोपनको जुन समस्या छ, यो दिनदिनै बढ्ने क्रममा छ । यसको पनि धेरै तहहरू छ ।  दैनिक जीवन शैलीदेखि, खानेकुरा, उमेर सबैले असर पार्छ । पूर्ण रूपमा बच्चा नै नहुने पाठेघर नै नभएको अवस्थामा मात्र हो । टेस्टट्यूब बेबीबाट बच्चा बनाए पनि राख्ने ठाउँ भनेको त पाठेघर नै हो । पछिल्लो समय पाठेघर नै नहुने समस्या पनि बढ्दो छ । 

कुनै जोडीले बच्चाको योजना बनाए तर बच्चा बसेन भने एक पटक योजना बनाउनुभन्दा अगाडि स्त्री रोग विशेषज्ञलाई देखाउनुपर्छ । सबै कुराको समय, तरिका हुन्छ । त्यो तरिका नमिलाउने हो भने प्रयासहरू खेर जान्छन् । त्यस कारण पनि स्त्री रोग विशेषज्ञलाई भेटेर परामर्श लिनुपर्छ । 

विशेषज्ञले महिलाको महिनावारीको चक्रलाई हेरेर उपयुक्त समय दिन सक्छन् । अन्य मिति समेत पनि निकालेर दिने गर्छौ । यसरी सुझाउने हो भने बच्चा बस्ने सम्भावना बढ्छ । तर यो ज्ञान अहिले एकदमै कम छ । यसको बारेमा एक त धेरैले कुरा गर्न पनि चाहँदैनन् र ज्ञान पनि धेरैमा कम हुन्छ । यसले गर्दा पनि बाझोपन बढ्ने क्रममा छ । 

अर्को कुरा भनेको असुरक्षित गर्भपतनले पनि जोखिम निम्त्याउँछ । गर्भपतनका बेला मेसिनले सफा गर्ने काम पनि हुन्छ । त्यो बेला बच्चा बस्ने ठाउँमा असर पर्न सक्छ । जसले गर्दा पछि गएर बच्चा बस्ने सम्भावना कम हुँदै जान्छ । धेरै पटक गर्भपतन गर्ने हो भने अण्डा बन्ने क्षमतामा पनि असर पर्न सक्छ । पाठेघरको बनावटमा पनि परिवर्तन आउन सक्छ । बाझोपनमा गर्भपतनको पनि केही हदसम्म हात हुन्छ । त्यस कारण असुरक्षित गर्भपतन नगर्न नै सुझाव दिन चाहन्छु । 

 

 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update