काठमाडौं - सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिहरूले काम नै गरेनन् भन्ने सुनियोजित तरिकाले दुष्प्रचार गरिएको बताएका छन् ।
सोमबार गोकर्णेश्वर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै उनले गोकर्णेश्वर नगरपालिकाको जस्तो राम्रो कामलाई अगाडि बढाउन सकेको खण्डमा वर्तमान व्यवस्था ठीक छैन भन्ने भ्रम पैदा गर्नेहरूलाई कडा जवाफ हुने बताए ।
उनले भने, ‘अहिले जनप्रतिनिधिहरूले काम गरेन भन्ने एउटा सुनियोजित तवरले सिस्टमले काम नै गर्न सक्दैन भन्ने दुष्प्रचार गरिरहेको छ । मलाई लाग्छ यस्ता राम्रा काम गरेको पालिकाहरूको कामलाई अगाडि बढाएको खण्डमा यो व्यवस्था नै ठीक छैन भनेर आम जनतामा भ्रम पैदा गर्नेहरूलाई कडा जबाफ हुने छ ।’
उनले गोकर्णेश्वरले सेवालाई सुव्यवस्थित गरेको भन्दै सबै पालिकाहरूले आधुनिक उपकरणहरूको सदुपयोग गरेर सेवा दिने काममा गोकर्णेश्वरको देखासिखी गर्नुपर्ने बताए ।
उनले भने, ‘मलाई लाग्छ अरू नगरपालिका र गाउँपालिकाले पनि यो गोकर्णेश्वर नगरपालिकाले जस्तै सेवालाई सुव्यवस्थित गर्नको लागि, अझ सहज गर्नको लागि आधुनिक उपकरणहरूको सदुपयोग गरेर सेवा दिने काममा यसको देखासिकी गर्यो भने राम्रो हुन्छ ।’