मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, आठ घाइते

मुगु - मुगु जिल्लाको खत्याड गाउँपालिका–४ पैखुमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। माँझचौरबाट जिउगाँतर्फ जाँदै गरेको ज १ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब सात सय मिटर तल खसेको थियो । दुर्घटनामा खत्याड–४ की ५२ वर्षीय शारदा थापाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी माँझचौर र ईलाका प्रहरी कार्यालय राता पानीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो। हाल घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२ १५:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय