
ब्रसेल्स - ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघ संस्था एवम् समाजका अगुवाहरूसँग अन्तरक्रिया गरेको छ।
बेनेलक्स एवम् युरोपेली संघका लागि नेपाली राजदुत नियुक्त भएकी पूर्व परराष्ट्र सचिव सेवा लम्सालले आगामी कार्ययोजना बनाउन सहयोग पुगोस् भनेर नेपाली समुदायको सुझाव लिन अन्तरक्रियाको आयोजना गरिएको बताइन् ।
डायस्पोराका संघसंस्थासँग विशेष गरी चार वटा बुँदा ‘नेपालमा पर्यटन प्रवर्द्धन एवं पर्यटकीय गन्तव्यको प्रभावकारी प्रचारप्रसार, नेपालमा लगानी भित्र्याउन दूतावासले खेल्नु पर्ने भूमिका, बेल्जियममा उपलब्ध रोजगारीका अवसर र चुनौती, दूतावासको सेवा प्रवाहलाई सरलीकृत गर्न के कस्ता उपाय अपनाउन सकिन्छ ?’ भन्ने बारेमा सुझाव मागिएको थियो ।
अन्तरक्रियामा उपस्थित नेपाली समुदायका अगुवा तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरूले बेल्जियममा बिसौँ वर्षदेखि भोग्दै आएका समस्या र समाधानका लागि व्यावहारिक उपाय र कूटनीतिक पहल, लगानी र पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकारले गर्नुपर्ने र सुधार्नु पर्ने नीति नियम एवं युरोपको श्रम बजारमा नेपाली जनशक्तिको पहुँचका लागि गर्न सकिने कामलगायत एनआरएन नागरिकता, दोस्रो पुस्तालाई नेपालसँग जोड्नका लागि पहल, भिसा सम्बन्धी समस्या, हवाई यातायात समस्या, युरोपमा नेपाली वायु सेवा कम्पनीहरू माथि लगाइएको प्रतिबन्ध फुकुवाको पहल साथै योग, ध्यान, नेपाली परिकार, कला संस्कृतिमार्फत नेपालको प्रवर्द्धन गर्ने लगायतका सुझावहरू दिएका थिए ।
यसै गरी सहभागीहरूले दूतावासको सेवा सुविधा चुस्त बनाउन आधुनिक प्रविधिको प्रयोग, सेवाग्राहीलाई सेवा सम्बन्धी सचेतना जगाउन कार्यक्रम, पर्यटन गन्तव्यको रूपमा नेपाललाई प्रवर्धन गर्न बेल्जियमका मिडियाहरूमा प्रचारप्रसार, नेपाली व्यावसायिक संस्थाहरुमा नेपाल झल्काउने सामग्री वितरणको व्यवस्था, नेपाल फेस्टिभल, फुड फेस्टिभल गरिरहेका नेपाली संघ संस्थाहरुसँग सहकार्य र प्रोत्साहन, नेपाली मूलका बालबालिकाहरूलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र परीक्षाको व्यवस्था, आफ्ना नजिकका बेल्जिक साथीहरूलाई नेपालको भ्रमणमा जान प्रोत्साहन गर्ने लगायतका दूतावास र नेपाली समुदायले गर्न सक्ने थुप्रै विषयमा सुझाव दिएका थिए ।
लम्सालले आफ्नो बेल्जियम आगमनको १२० दिन मात्र पुगेको भए पनि आफू दशकौँदेखि बेल्जियमको वस्तुस्थितिबारे जानकार रहेको बताइनन्। उनले प्रवासमा बसेर पनि नेपाल र नेपालीको हितका लागि निस्वार्थ सेवा गरी रहेका नेपाली संघ संस्था तथा अगुवाहरूको प्रशंसा गर्दै छलफलबाट प्राप्त सुझावहरू कार्य पुस्तिका बनाएर राख्ने र सोही अनुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरिन् ।
उनले नेपालमा लगानीका लागि व्यवसायीहरू, नेपालको प्रचारप्रसारका लागि सञ्चार कर्मीहरू, रोजगारीका लागि पेशीकर्मी तथा संस्थाहरू, भाषा साहित्य र कला संस्कृतिको प्रवर्द्धन एवं प्रचार प्रसारका लागि कलाकार, साहित्यकार, जातीय तथा सांस्कृतिक संस्थाहरुलाई दूतावाससँग सहकार्य गर्न अनुरोध गरिन् ।