Harsamaya
ग्वार्कोको ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
ललितपुरको ग्वार्कोमा बनाइएको फ्लाई ओभर ।

ललितपुर - ललितपुरको ग्वार्कोमा बनाइएको फ्लाई ओभरआज उद्घाटन हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाई ओभर उदघाटन गर्ने छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार शुक्रबार प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ ।

२०७८  फागुन १२   मा सुरु भएको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ । तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए ।

‘करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएकोमा   काम सम्पन्न भइसक्दा  ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ । दुई वर्षभित्र काम सम्पन्न हुने गरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो ।

तर, फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्ने गरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो ।

ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि करिब एक करोड ४७ लाख हर्जाना तिराएर निर्माण सम्पन्न गरिएको हो । 

ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्‍याम बनाइएको छ ।

चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाइ ओभरपास बनाइएको हो । ओभरपास मुनिबाट मंगलबजार–इमाडोल जाने सवारीसाधन निर्बाध चल्न सक्ने गरी ओभरपास बनाइएको छ । यसबाट ट्राफिक जाम कम हुने अपेक्षा छ ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update