Harsamaya
बौद्धमा दुई संस्थाबीच विवाद, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी
बौद्ध स्तूप ।

काठमाडौं - विश्व सम्पदा सूचीकृत क्षेत्रमा पटक–पटक विवाद र राजनीतिकरणले गाँजिएको छ ।

बौद्ध स्तूप परिसरमा रहेका दुई ठूला संस्था बौद्ध तथा मेलम्ची घ्याङ गुठी र बौद्ध क्षेत्र विकास समितिबीच समय समयमा कार्यगत असहमति हुँदै आएको छ । छुट्टा छुट्टै कार्य विधिसहित जिम्मेवारी प्राप्त दुई संस्थाबीच एकअर्कामा क्षेत्राधिकार मिचिएर काम गरेको आरोप प्रत्यारोप हुँदै आइरहेको छ ।

यसैबीच गत असार ३० गते बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको निर्देशनमा कुमार तामाङले घ्याङ गुठीको अधीनमा रहेको शौचालय भत्काइ दिएका छन् । गुठी पदाधिकारी तथा कर्मचारीलाई समेत जानकारी नदिई शौचालय भत्काएपछि गुठीले बौद्ध महानगरीय प्रहरी वृत्तमा उजुरी दिएको छ । उजुरीमा गुरू ल्हाखाङ गुम्बाको जगलाई समेत असर पुर्याउने गरी क्षेत्र विकासको तर्फबाट अध्यक्ष राजकुमार लामाको एकल निर्देशनमा कुमार तामाङको टोलीले घ्याङ गुठी अन्तर्गत रहेको शौचालय भत्काइएको र उनीविरूद्ध पक्राउ गरी आवश्यक छानबिन तथा कारबाहीको माग राख्दै गत असार १ गते श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले उजुरी दर्ता गरेको हो । उक्त उजुरी उपर कारबाही प्रक्रियालाई अगाडी बढाउन प्रहरी निरीक्षक सुजनलाई खटाइएको छ ।

विश्व सम्पदामा सूचीकृत महा चैत्य तथा ल्हाखाङ गुम्बाको व्यवस्थापन, संरक्षण तथा क्षेत्राधिकर प्राप्त दुई संस्था श्री बौद्धनाथ क्षेत्र विकास समिति र श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी नेपाल सरकार अन्तर्गत सञ्चालित हुन् । यी दुई संस्थाहरूको काम कारबाहीको लागि अधिकार, कर्तव्य र क्षेत्राधिकार कार्यविधिमै स्पष्ट छन् तर पटक–पटक विवाद उत्पन्न हुने कार्य भइरहेकोले त्यस क्षेत्रको हितको लागि सिंगो बौद्धमार्गीहरू चिन्त व्यक्त गर्दै आइरहेका छन् ।

विशुद्ध धार्मिक स्थलभित्र व्यक्तिवादी सोच, चिन्तन र हस्तक्षेपकारी भूमिका खेल्दै नकारात्मक सन्देश दिन खोजिएको आरोप लाग्दै आए पनि श्री बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले गुठीको कामकारबाहीलाई असहज बनाउन लागेको गम्भीर आरोप लागेको छ ।

क्षेत्रविकास समितिले संरचना निर्माण तथा मर्मत सम्भार गर्दै बौद्ध स्तूप परिसरलाई शान्ति सुव्यवस्था मिलाउनुको सट्टा परापूर्वकालदेखि गुठीले गर्दै आएको पूजापाठ तथा धार्मिक कार्यलाई समेत असर पुर्याउँदै आएको बौद्ध तथा मेलम्ची घ्याङ गुठीको आरोप छ ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update