
नुवाकोट - नुवाकोटको त्रिशूली अस्पतालले स्वास्थ्य सेवामा आधुनिक प्रविधिको प्रयोग गर्दै अनलाइन टिकटिङ प्रणाली सुरु गरेको छ । जसबाट सेवाग्राहीहरू अब घरमै बसेर ओपीडी टिकट काट्न सक्ने भएका छन्।
नुवाकोट, रसुवा र धादिङका हजारौं सर्वसाधारणलाई सेवा दिँदै आएको त्रिशूली अस्पतालमा अनलाइन सेवा सुरु भएसँगै भीडभाड र लाइनमा घण्टौं कुर्नुपर्ने समस्याबाट छुट्कारा मिल्ने आशा गरिएको छ।
अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार अनलाइन प्रणालीमार्फत बिरामीले आफ्नै आवश्यकता अनुसार विभाग, मिति र समय छानेर टिकट काट्न सक्ने सुविधा उपलब्ध गराइएको छ। `सेवाको गुणस्तर बढाउन र प्रक्रियालाई छरितो बनाउन यो सेवा लागू गरिएको हो,´ उनले बताए।
अस्पताल विकास समितिका अध्यक्ष उपेन्द्र वुढाथोकीले अनलाइन टिकट काट्न अस्पतालको वेबसाइट प्रयोग गर्न सकिने जानकारी दिँदै भने, `अब सेवाग्राहीले घर, अफिस वा शैक्षिक संस्थाबाटै सहज रूपमा सेवा लिन सक्छन्।´
त्रिशूली अस्पतालमा दैनिक पाँच सयभन्दा बढी बिरामीको परीक्षण तथा उपचार हुँदै आएको छ। आकस्मिक र बाहिरंग दुवै सेवामा बिरामीको चाप बढ्दो छ, जसलाई व्यवस्थापन गर्न अनलाइन सेवा महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।
यो प्रणालीले ग्रामीण भेगका नागरिकलाई पनि सहज पहुँच दिलाउने विश्वास गरिएको छ ।