
काठमाडौं - अपराध, मनोविज्ञान र समाजको गहिरो सम्बन्ध उजागर गर्ने नयाँ नाटक ‘हत्या’असार ५ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुँदैछ। नाटक हरेक दिन साँझ ४ बजेबाट सुरु हुन्छ । शनिबार भने दिउँसो १२ बजे र ४ बजेको दुईवटा शो देखाइनेछ। सोमबार भने शो बन्द हुनेछ ।
सुदीप तिमिल्सिनाले अनुवाद तथा निर्देशन गरेको यो नाटक प्याट्रिक ह्यामिल्टनको चर्चित मनोवैज्ञानिक थ्रिलर ‘Rope’ मा आधारित छ। बिशाल कुमार केसीको सह-निर्देशनमा तयार भएको ‘हत्या’ नाटकले अपराध शब्दको अर्थ फरक दृष्टिकोणबाट उजागर गर्न खोजेको छ।
निर्देशक तिमिल्सिनाका अनुसार नाटकले दर्शकलाई सतही विश्लेषण भन्दा बाहिर निस्केर सोच्न बाध्य पार्छ। अपराध के हो भन्ने बुझाइ व्यक्तिगत मनोविज्ञान र सामाजिक दृष्टिकोणसँग कसरी गाँसिएको हुन्छ भन्ने कुरामा नाटक केन्द्रित छ।
नाटकमा मिस ग्रान्ड इन्टरनेशनलका सहभागी कलाकारदेखि एभरेस्ट फिल्म एकेडेमीका निर्देशकसहित आठ जना कलाकारहरू छन्। अधिकांश कलाकारहरू अभिनय क्षेत्रका विद्यार्थी तथा विभिन्न पेशामा आबद्ध भए पनि रंगमञ्चप्रति गहिरो लगाब राख्छन्।
सामाजिक नाटकहरूमा आधारित निर्देशनको अनुभव बोकेका निर्देशक तिमिल्सिनाले यो नाटकलाई मनोवैज्ञानिक थ्रिलरका रूपमा नयाँ शैलीमा प्रस्तुत गरेका छन्। ‘यो मेरो लागि केही नयाँ प्रयास हो,’ उनी भन्छन्, ‘नाटकले दर्शकसँग प्रत्यक्ष संवाद गर्ने र गहिरो सोचाइ निम्त्याउने क्षमता राख्छ।’
‘हत्या’ नाटक केवल मनोरञ्जन नभई, गहिरो चिन्तनको माध्यम पनि हो। मनोविज्ञान, सामाजिक मूल्य र अपराधको परिभाषामाथि गहिरो प्रश्न उठाउने यो नाटकले नेपाली रंगमञ्चमा नयाँ सोचको तरंग ल्याउने अपेक्षा गरिएको छ। यो नाटक असार १५ सम्म मण्डलामा मञ्चन हुनेछ ।