
काठमाडौं - आजभोलि अधिकांश अभिभावकलाई सताउने एउटै चिन्ता हो ‘कार्टुनको लत’। छोराछोरीलाई केहीबेर शान्त राख्न देखाइएको कार्टुन कति बेला बालबालिकाको जीवनमा ‘डिजिटल नशा’ बन्न पुग्छ, पत्तो नै हुँदैन। सुरुमा फुर्सदको साधन बनेको स्क्रिन पछि ‘सन्देहास्पद साथी’ जस्तै तिनको दिनचर्या कब्जा गर्न थाल्छ।
विशेषगरी कामकाजी अभिभावकले आफ्ना बालबालिकालाई बहलाउन यूट्युब र टिभीको सहारा लिन्छन्। तर यिनै साधनले उनीहरूमा सामाजिक संकोच, संवादहीनता, चिडचिडापन जस्ता समस्या जन्माइरहेका छन्। यस्तो अवस्थामा अभिभावकको भूमिका झनै महत्वपूर्ण हुन्छ।
कार्टुनको मोह हटाउन के गर्न सकिन्छ?
- साथी बन्नुहोस्, निर्देशक होइन
छोराछोरीलाई ‘यो नगर, त्यो नगर’ भन्दै आदेश दिनेभन्दा, उनीहरूका कुरा सुन्ने र आफ्ना कुरा साझा गर्ने बानी बसाल्नुहोस्। जब बच्चा महसुस गर्छ कि उसलाई सुन्छन्, ऊ आफैँ विकल्प खोज्न थाल्छ।
- व्यस्त समयतालिका बनाइ दिनुहोस्
पढाइ, खेलकुद, मनोरञ्जन, टिभी हेर्ने समय आदिको तालिका बनाई दिँदा उनीहरूमा अनुशासन र आत्म नियन्त्रण विकसित हुन्छ।
- विकल्प दिनुहोस्, गाली होइन
‘कार्टुन नहेर्नू’ भन्दा पनि, ‘तिमी चित्र बनाउँछौ कि किताब पढ्छौ?’भन्ने किसिमले उनीहरूलाई निर्णय गर्ने स्वतन्त्रता दिनुहोस्। यसले बालमनमा सकारात्मक असर पार्छ।
- सूचना र मनोरञ्जन एकैसाथ
कार्टुन मात्र होइन, अरू जानकारीमूलक कार्यक्रम हेर्न प्रेरित गर्नुहोस्। बालमैत्री डकुमेन्ट्री, विज्ञानकथा, भाषिक कार्यक्रम उनीहरूको सोच र रुचि दुबै विस्तार गर्न सक्छ।
- घरबाहिरको संसार चिनाउनुहोस्
हप्तामा एक पटक उनीहरूलाई घुमाउन लैजानुहोस्। यसले बालबालिकालाई बाहिरी दुनियाँसँग जोड्ने मात्र होइन, परिवारको सम्बन्ध पनि बलियो बनाउँछ।
अन्ततः
कार्टुनको लत एकै पटक हटाउने प्रयास गर्नु हुँदैन। यसका लागि धैर्यता, माया र निरन्तरको साथ चाहिन्छ। टेलिभिजन बन्द गर्नु समाधान होइन, उनीहरूलाई नयाँ संसारमा प्रवेश गराउनु नै सफल उपाय हो।