Harsamaya
भोटेकोशी बाढीमा रसुवाका ३८ विद्यार्थी र २०१ अभिभावक बेपत्ता

रसुवा - भोटेकोशी बाढीका कारण रसुवाका संस्थागत विद्यालयमा अध्ययनरत ३८ विद्यार्थी र २०१ जना अभिभावक बेपत्ता भएका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रसुवाका अध्यक्ष पासाङ लामाका अनुसार बाढीमा गोसाइँकुण्ड बोर्डिङ स्कुलका १९, मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका १० र हाइल्याण्ड आवासीय माध्यमिक विद्यालयका नौ विद्यार्थी बेपत्ता भएका हुन्।

प्याब्सनको तथ्याङ्कअनुसार गोसाइँकुण्ड बोर्डिङका ४६, हाइल्याण्ड आवासीय माविका ४२, नमूना एभरग्रिनका ४१, मोडर्न ट्रिनिटीका ३३, ग्रीनगार्डनका २५, नर्थपोलका नौ र हिमालयनका पाँच विद्यार्थीले आफ्ना अभिभावक गुमाएका छन्।

अभिभावक गुमाएपछि ती बालबालिकाको पठनपाठन प्रभावित भएको छ। आश्रय र संरक्षणको अभावमा बाढी प्रभावित बालबालिका कठिन अवस्था सामना गरिरहेका छन्।

बाढीले शैक्षिक संस्थाका भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ। मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिका पनि बाढीपछि बेपत्ता छन्।

प्याब्सन अध्यक्ष लामाका अनुसार विद्यालयको छात्रावासमा रहेका अभिभावकविहीन विद्यार्थीको खानपानको व्यवस्था मिलाइएको छ। विद्यालय तत्काल सञ्चालनमा ल्याउन आवश्यक खाद्यान्न तथा अन्य सामग्रीसमेत उपलब्ध गराइएको उनले बताए।

रसुवाका सात संस्थागत विद्यालयमध्ये पाँचवटा पुनः सञ्चालनमा आइसकेका छन्। ठूलो क्षति भएका दुई विद्यालय पनि केही समयमै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

प्रभावित बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न प्याब्सन रसुवाले सहयोगका लागि सबैसँग अपिल गरेको छ। केन्द्रीय प्याब्सनको समन्वयमा अभिभावक गुमाएका तथा बाढी प्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन पहल भइरहेको जनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update