-1750130418.jpg) 
                                                            ललितपुर : ललितपुर महानगरले उद्यमी महिलाहरूलाई प्रोत्साहित गर्न चौथो महिला उद्यमी सम्मेलन आयोजना गरेको छ । कार्यक्रममा उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाललाई समृद्ध मुलुक बनाउनका लागि उद्योगमा लगानी गर्नुपर्ने बताए ।
रोजगारी, उत्पादन र बजारीकरण देश र पालिकाको प्रगतिको सूचक भएको उनको भनाइ छ । मन्त्री भण्डारीले सभ्यतासँग जोडिएको उत्पादनलाई ब्रान्डिङ गर्नुपर्ने बताउँदै हस्तकलालाई प्राथमिकतामा राख्नुपर्ने प्रष्ट पारे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग र उद्यमीसँग सम्बन्धित ३१ वटा बुँदाहरू समेटिएको बताउँदै मन्त्रालयले उद्यमशीलता प्रवर्द्धन गर्न र उद्यमीलाई प्रेरित गर्न न्यून ब्याजदरमा ऋण उपलब्ध गराएको बताए । उत्पादकत्वमा वृद्धि गरेर मुलुकको अर्थतन्त्र विकास गर्न उनले जोड दिए ।
ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले महिला उद्यमीलाई प्रेरित गर्न बिउ पुँजीको व्यवस्था गरेको बताए । उनले भने, ‘ हामी ललितपुरको उत्पादनलाई विश्वभर चिनाउन चाहन्छौँ, त्यसको लागि दत्तचित्त भएर काम गर्नुस ।’
यस्तै जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुयाँलले उद्यमी महिलालाई सम्मान गर्न कार्यक्रम आयोजना गरेको बताउँदै यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुने बताए । ललितपुर महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्यमी महिलालाई हौसला र प्रेरणा दिन सम्मेलन आयोजना गरेको बताइन् । खस्कँदै गएको अर्थतन्त्रलाई उकास्न उद्यम र उद्यमीलाई प्राथमिकता दिनुपर्ने उनले धारणा राखिन् । उनले उद्यमी बन्नु चुनौतिपूर्ण र पृथक काम भएको बताउँदै त्यो आँट गर्नु सबैभन्दा ठुलो र गर्व गर्न लायक कदम भएको जिकिर गरिन् । उपप्रमुखका अनुसार महानगरले महिला उद्यमीले उत्पादन गरेको उत्पादनको सूचीकरण गर्ने तयारी गरिरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महिला उद्यमीको सीपमा लगानी गरेर प्रविधिसँग जोड्दै उत्पादनको बजारीकरण गर्न महानगरले महिला उद्यमीलाई प्रेरित गरेको बताइन् । महिला उद्यमशिलता व्यक्तिगत उपलब्धि मात्रै नभएको बताउँदै समाज र राष्ट्रको समृद्धिसँग जोडिएको विषय भएको धारणा राखिन् ।
महिला विकास शाखाकी प्रमुख शोभा खरेलले मुलुकका अन्य स्थानीय तहको भन्दा महानगरको महिला उद्यमशीलता केन्द्र सक्रिय रहेको बताउँदै उद्यमशीलतालाई प्रोत्साहित गर्न महानगरले सम्मेलन आयोजना गरेको बताइन् । कार्यक्रममा उनले उद्यमशीलता र महिला उद्यमीको बारेमा तयार पारेको विवरणात्मक प्रस्तुतीकरण प्रस्तुत गरेकी थिइन् ।
१० जना महिला उद्यमी सम्मानित
ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका उद्यमी महिलालाई सम्मान गरेको छ । सम्मानित हुनेमा वडा नं.१३ स्थित आमाज क्रियसनकी सुरुची खड्का, वडा नंं.३स्थित कटन केयर होमकी हसना महर्जन, वडा १९ स्थित नेटमेड फार्मेसीकी सुप्रिया शाक्य, वडा नंं.२३ स्थित जरा सोसल भेन्चर प्रा.लिका हेमा श्रेष्ठ छन् । त्यसैगरी वडा नं. २२ स्थित रानीदेवी कृषि तथा पशुपालन फार्म प्रा.लिका नानीमाया नेपाली, वडा नं.७ स्थित नेवाः नशाः घासाःकी दिलमाया महर्जन, वडा नंं.११ स्थित निभा ट्रेड इन्टरप्राइजेजकी निलिमा बज्राचार्य, हरिसिद्धी वडा नं.२८ स्थित दिपा कर्माचार्य , वडा नंं १९ स्थित सुनिता बज्रचार्य, वडा नं.२ स्थित न्हू डिजाइन्सकी रश्मि तण्डुकार सम्मानित भएका छन् ।


 
                                                 
                                                ![मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/Khagendra-1761903117.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    