
सुर्खेत - नेपाल सरकारले ल्याएको नयाँ पुस्ताको सुधारका कार्यक्रमलाई ध्यानमा राखेर अबको मौद्रिक नीति आउनु पर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
नेपाल बैंकर्स एसोसियशनले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख राजन प्रसाद रेग्मीले राज्यको उद्देश्य उत्पादन बढाउने भएकाले कर्जालाई कृषि, ऊर्जा र साना तथा मझौला उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर प्रवाह गर्नु पर्नेमा जोड दिए ।
भुक्तानी दिनेमै बढी आम्दानी तथा नाफा हुने भए पनि सरकारले आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रित भएकाले बैंकहरुले त्यसतर्फ पनि सोच्नु पर्ने बताए । ‘सरकारले लिएको नीति तथा कार्यक्रम अनुसार नै राष्ट्र बैंकले पनि आवश्यक नीतिहरू बनाउने हो’ उनले भने, ‘मौद्रिक नीतिका कारण राज्यका कार्यक्रम र नागरिकहरूलाई सहज सेवा प्रवाह हुनु पर्दछ ।’
कार्यक्रममा निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव वमले राष्ट्र बैंकले ल्याउने लगानी नीतिले सरकारले लिएको समृद्धिको अभियानलाई सहयोग पुर्याउनु पर्ने बताए । कर, भ्याट, ब्याज, जरिवाना लगायतका विभिन्न समस्याले निर्माण व्यवसायीहरू मारमा परेको भन्दै उनले त्यसको सहजताका लागि सरकारले सहयोग गर्नु पर्नेमा जोड दिए ।
पर्यटन व्यवसायी हरी विष्टले बैंकले लगानी गर्दा देखाउने ब्याज र भुक्तानीको समयमा गरिने हर्जाना लगायतका समस्याले व्यवसायीहरू मारमा परेको बताए । कार्यक्रममा सहभागी विभिन्न बैंकमा प्रदेश कार्यालय प्रमुखहरूले कर्णालीमा लगानी बढाउन, असुली गर्न तथा लगानीको सुरक्षा गर्न चुनौती बढेकोले त्यस्तो लगानीमा राज्यले सहयोग गर्ने गरी नीति बनाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल बैंकर्स एसोसियशन कर्णाली प्रदेशका अध्यक्ष डा. सुरोज टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा कर्णालीको लगानी अवस्था र आगामी मौद्रिक नीतिमा समेट्नु पर्ने सुझावका विषयमा छलफल गरिएको थियो । देशमै पहिलो पटक कर्णालीमा यस्तो छलफल भएको भन्दै अध्यक्ष टण्डनले छलफलबाट आएका सुझावहरू राष्ट्र बैंकमा पठाउने बताए ।