Harsamaya
इजरायलमा रहेका नेपाली सुरक्षित छन् : राजदूत श्मुलिक एरी बास
परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा र इजरायली राजदूत श्मुलिक एरी बासबिच भेट ।

काठमाडौं - परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबिच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बाससँग जानकारी लिएकी छन् । सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग राजदूत बासले इजरायल र इरानबिचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए ।

त्यस अवसरमा मन्त्री राणाले त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी छन् । त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपालीहरू सुरक्षित रहेका जानकारी गराएका थिए ।  

आइतबार मात्र परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर  इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराएको थियो । पछिल्ला केही दिन इरान र इजरायलबिच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा. राणाले तेल अभि र दोहास्थित नेपाली राजदूतहरुलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँ स्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन् । 

मन्त्रालयले दुई देशबिचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने सो विज्ञप्तिमा स्पष्ट गरेको थियो

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update