
काठमाडौं - ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । कुल २१ लाख ७१ हजार १५४ आवेदकबाट २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन माग भएको यस कम्पनीको आईपीओको बाँडफाँड गोला प्रथा विधिबाट भएको छ । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा विधिबाट आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीले आज बिहान साढे ९ बजे गौशालास्थित क्रिस्टल पशुपतिमा आईपीओ बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीले गत जेठ १४ देखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०६ कित्ता शेयर जारी गरेको थियो ।
आवेदनमध्ये रितपूर्वक प्राप्त भएको २० लाख ५९ हजार ३८८ जना आवेदकहरूबाट २ करोड ३९ लाख ७ हजार ६०० कित्ता प्राप्त भएको हुँदा कम्पनीले जारी गरिएको शेयर सङ्ख्या भन्दा बढी सङ्ख्यामा शेयर खरिदका लागि आवेदन प्राप्त हुन आएको थियो ।
सोको बाँडफाँड गर्नका लागि एउटै समूहमा राखी न्यूनतम १० कित्ता शेयरका दरले गोला प्रथाबाट ३ लाख २९ हजार ६५० जना लगानीकर्ताहरूलाई र बाँकी ५.१९ कित्ता शेयर सोही मध्ये २० देखि १००० कित्ता आवेदन गरी १० कित्ता बाँडफाँडमा पर्ने आवेदकहरूलाई गोला प्रथाबाट नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्कासन कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा बाँडफाँड कार्य सम्पन्न गरिएको हो ।
आईपीओको नतिजा मेरो शेयर र सिडिएसी क्लिीयरिङ लिमिटेडको वेभसाइटबाट हेर्न सकिने छ ।