Harsamaya
पाँचथरको हेवाँखोलामा पुल निर्माणको त्रासदी: मोडुलर ब्रिज भाँचिँदा ६ कामदार गम्भीर घाइते
पाँचथरको हेवा खोलामा जडानकै क्रममा अचानक भाँचिएपछि निर्माणस्थलमा कार्यरत ६ जना मजदुर गम्भीर घाइते।

पाँचथर - नेपालमै पहिलोपटक जडान हुँदै गरेको ७० मिटर लामो सिंगल स्पान मोडुलर पुल पाँचथरको हेवाँखोलामा जडानकै क्रममा अचानक भाँचिएपछि निर्माणस्थलमा कार्यरत ६ जना मजदुर गम्भीर घाइते भएका छन्। घाइते सबै बारा जिल्लाको सिमरा उपमहानगरपालिका निवासी रहेका छन्।

शनिबार दिउँसो मेचि राजमार्ग अन्तर्गत फिदिम–हिलिहाङ सडक खण्ड जोड्ने सो पुल जडानको अन्तिम चरणमा पुगेको बेला दुर्घटना भएको हो। भारतबाट आएका प्राविधिकको सहायतामा काम भइरहेको यो पुल नेपालमा पहिलोपटक बिचमा कुनै पिलर नहुने संरचनामा निर्माण हुँदै थियो।

स्थानीय प्रशासनका अनुसार, घाइतेहरूको प्रारम्भिक उपचार जिल्ला अस्पताल पाँचथरमा गरिएको भए पनि अवस्था गम्भीर देखिएपछि उनीहरूलाई तत्काल बिराटनगरस्थित नोभल अस्पतालमा रिफर गरिएको हो।

घाइतेको विवरण:
१. रूपलाल चौधरी (२२) – बोल्न नसक्ने, गम्भीर अवस्था, बाहिरी चोट नदेखिए पनि आन्तरिक चोटको आशंका।
२. राजन चौधरी (२७) – पिठ्युमा गहिरो चोट, अचेत अवस्था।
३. राकेश चौधरी (२२) – गम्भीर आन्तरिक चोट, बोल्न नसक्ने।
४. भुलेश्वर चौधरी (२५) – दायाँ खुट्टा भाँचिएको, अचेत।
५. प्रकाश चौधरी (३५) – टाउको र शरीरका विभिन्न भागमा चोट, बोल्न सक्ने अवस्थामा।
६. अभिषेक चौधरी (३०) – टाउकोमा चोट, अचेत अवस्था।

यो स्थानमा यसअघि पनि स्थायी पक्की पुल बगाएर बेलिब्रिज बनाइएको थियो, तर त्यो बेलिब्रिज पनि २०८१ सालको असोजमा बाढीले बगाएको थियो। त्यसयता मोडुलर ब्रिज निर्माणको प्रयास भइरहेको थियो।

पुल भाँचिनुको कारणबारे विस्तृत अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ। हाल घटनास्थल सुरक्षित गरिएको छ भने बाँकी संरचना निरीक्षणमा राखिएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  २२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update