काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपालमा पनि पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताएका छन् ।
शनिबार संविधानविद्, लेखक तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक ‘नेपालमा निर्वाचन प्रणाली’ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी र उम्मेदवारी दुबैले पैसा खर्च गर्न नपर्ने गरी दुनियामा ७१ वटा निर्वाचन प्रणाली रहेको छ नेपालमा पनि यस्तै निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको बताए ।
उनले ‘अरु देशमा प्रधानमन्त्री देशको हुन्छ हाम्रो देशमा प्रधानमन्त्री निर्वाचन क्षेत्रको मात्र हुन्छ । सबै स्रोत साधन त्यतै प्राप्त हुन्छ । कतिपय सांसद घरको न घाटको हुने गरेको छ । निर्वाचन प्रणालीले तलदेखिको माथिसम्मको ठूलो लगानी उनिहरुले सेवाकोलागि गर्नुपर्छ । सबै निर्वाचन प्रणाली खराब होला त म भन्दिन तर पनि तुलनात्मकको रुपमा हाम्रो जस्तो विपन्नता भएको मुलुकमा यो खालको निर्वाचन प्रणाली दरिद्र भएको छ । भ्रष्टचार बढाउने बाटो खुलेको छ । त्यसैले जहाँ न पार्टीले न उम्मेदवारले खर्च गर्न परोस् । पार्टी र उम्मेदवारी दुबैले पैसा खर्च गर्न नपर्ने गरी दुनियामा ७१ वटा निर्वाचन प्रणाली रहेको छ । नेपालमा पनि पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली बनाउन आवश्यक रहेको छ ।’
उनले आजसम्म भएका राजनितीक अस्थिरता सबै मन्त्रीका लागि मात्र भएको दाबी गरे । उनले संसदबाट मन्त्री भन्ने शब्द हटाएपछि मन्त्रीहरुको खरिद बित्री नहुने बताए । उनले देशको निर्वाचन प्रणाली नै बदल्न पर्ने बताए ।
उनले भने, ‘आजसम्म जति पनि राजनितीक अस्थिरता भएको छ त्यो सबै मन्त्रीका लागि भएको छ । एउटा पार्टी ले सबैलाई मन्त्री बनाउन सक्दैन त्यसैले राति पार्टी फुटाउँछ बिहान नेता निकल्छ । संसद बाट मन्त्री भन्ने शब्द हट्यो भने मन्त्रीहरुको खरिद बित्री हुँदैन थियो । खसि बोकाको भाउ होला बरु सांसदहरुको भाउ छैन ।’