Harsamaya
नेपालमा मौसम पूर्वानुमान गर्न किन कठिन छ ? 
जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेल ।

काठमाडौं - जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले नेपालको भौगोलिक विविधता, सीमित स्रोत साधन, आवश्यक जनशक्तिको कमीले मौसम पूर्वानुमान गर्न कठिन भएको बताएकी छन् । 

उनले मौसम पूर्वानुमान गर्न धेरै मेहनत गर्ने गरेको भन्दै कहिलेकाहीँ पूर्वानुमान नमिल्नुको कारण धेरै रहेको बताइन् । उनले नेपालको भौगोलिक विविधताका कारण नेपालको मौसम र जलवायुमा विविधता हुने बताइन् 

उनले भनिन्, ‘जति धेरै भौगोलिक विविधता हुन्छ त्यती नै धेरै मौसम पूर्वानुमान पनि चुनौतीपूर्ण हुन्छ । विभिन्न तत्वहरूको उपस्थितिले वायुमण्डलमा भद्रगोल रूपमा रहेको हुन्छ । आज भएको नगन्य परिवर्तनले भोलि निकै ठूलो मौसममा परिवर्तन ल्याउन सक्छ ।’

उनले मौसम पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि नेपालमा भित्र्याउन नसकेको भन्दै भौतिक र प्राविधिक स्रोत साधनहरूको कमीले गर्दा पनि मौसम पूर्वानुमान गर्न निकै कठिन भइरहेको जानकारी दिइन् । 

‘विश्वव्यापी रूपमा प्रविधिले फड्को मार्दै गर्दा मौसम पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि हामीले भित्र्याउन सकेका छैनौं । नियमित रूपमा मौसम पूर्वानुमान गर्न आवश्यक जनशक्तिका साथै, भौतिक र प्राविधिक स्रोत साधनहरूको कमीले गर्दा पनि मौसम पूर्वानुमान गर्न निकै कठिन भइरहेको छ,’उनले भनिन् । 

मौसम पूर्वानुमान नमिल्नुको अर्को कारण तथ्यांकको सीमितता रहेको भन्दै उनले नेपालमा उच्च पहाडी तथा हिमाली भूभागहरुको नियमित रूपमा प्रर्याप्त रूपमा तथ्यांक संकलन गर्न नसकिंदा मौसम पूर्वानुमान थप जटिल बनेको बताइन् । 

उनले हाल नेपाललगायत विश्वव्यापी रूपमा गणितीय मौसम पूर्वानुमान प्रणालीको प्रयोग गरी मौसम पूर्वानुमान गर्ने गरेको र तर नेपालको भूगोल सुहाउँदो एवम् आवश्यक अध्ययन अनुसन्धान नहुँदा साथै आवश्यक तथ्यांक प्रयोग गर्न नसक्दा नेपालको मौसम पूर्वानुमान जटिल बनेको बताइन् । 

वरिष्ठ मौसमविद् कंडेलले चुनौतीको बाबजुत पनि मौसम पूर्वानुमानमा विश्वसनीय र भरपर्दो बनाउँदै लगिरहेका जानकारी गराइन् ।  

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update