Harsamaya

काठमाडौं - गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा नक्कली पीडित खडा गरेर आफूविरुद्ध जालसाजी गर्ने काम गरेको आरोप लगाएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टी कार्यालयमा नक्कली पीडितहरूलाई बोलाएर जाहेरी लेखेर आफ्ना दर्ता गर्ने प्रयत्न गरेको आरोप लगाउँदै यस्ता अपमानजनक र जालसाजी गरेर नक्कली पीडित खडा गर्नेहरूको पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए । 

उनले भने,‘केही पार्टी कार्यालयहरूमा नक्कली पीडितहरूलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरू लेखेर मेरा विरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइरहेको छ । कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ । यस्ता जालछाँट र अमर्यादित काम गरेर आफ्नो राजनीति अभिष्ट पूरा गर्ने काममा नलाग्न म आग्रह गर्दछु । यस्ता अपमानजनक र जालसाजी गरेर नक्कली पीडित खडा गर्नेहरुको पत्ता लगाएर कारबाही गरिने छ ।’

त्यस्तै उनले रास्वपा सम्भावना बोकेको पार्टी भएको भन्दै यस्ता जालसाँजीमा नलागी सचेत रहन सुझाव दिए । रास्वपाका सांसदहरुले तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग जोडेर अहिले आफूलाई त्यसको प्रतिशोध लिने काममा लागि परेको समेत बताए । 

‘जालसाजी गरेर नक्कली पीडित खडा गर्ने पार्टी कार्यालयहरू बन्दै छन्  । यसमा तपाईंहरु सचेत हुनुहोस् । किनभने तपाईंहरु सम्भावना बोकेको पार्टी हुनुहुन्छ । हिजो मैंले श्रममन्त्री हुँदा वैदेशिक रोजगार ऐन बनाएर चार वटा देशसँग श्रम सम्झौता गरेको सम्झना गर्नुहोस् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले तत्कालीन गृहमन्त्रीज्यूलाई जोडेर मलाई अहिले त्यसको प्रतिशोध लिने काममा लाग्नुभएको छ,’उनले भने ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update