Harsamaya
अवैध १३ लाख नगदसहित कुशवाहा पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बारा - स्रोत नखुलेको अवैध १३ लाख भन्दा बढी रुपैयाँसहित एक जना मानिसलाई बारा प्रहरीले सिमराबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विरगञ्‍ज १६ बस्ने विजय महतोको छोरा वर्ष २० का सुरज कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा डिएसपी विजयराज पण्डितले बताएका छन्।

बिहीबार साँझ जितपुर सिमरा २ एयरपोर्ट रोडमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी बेदप्रकाश जोशीको कमाण्डमा खटिएको टोलीले सुरज कुशवाहालाई कालो रंगको भिर्ने झोला पिठ्युमा बोकी शंकस्पद तरिकाले सिमारा चोकदेखि एयरपोर्टतर्फ जाँदै गरेको अवस्थामा रोकेर चेकजाँच गरिएको थियो।

कुशवाहाले बोकेको कालो रंगको भिर्ने झोला तथा निजको शरीरको चेकजाँच गर्दा १ हजार दरको नोट १ हजार ६७ थान , ५००  दरको  ४८० थान र  १०० दरको नोट ५ थान  गरी जम्मा १३ लाख सात हजार पाँच सय रुपैँया र विभिन्न बिल भौचर कागजातहरू तथा सागर मनि ट्रान्सफर वीरगञ्‍ज लेखिएको स्टाम्पसमेत फेला परेको बारा प्रहरीले शुक्रबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

कुशवाहामाथि कानुन बमोजिम हुण्डी कारोबार सम्बन्धी शीर्षकमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखको रूपमा एसपी सन्तोष कुमार तामाङले जिम्मेवारी सम्हालेदेखि प्रहरीले हुण्डी कारोबार, लागू औषध कारोबार नियन्त्रण अभियान चलाएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update