
जनकपुरधाम - जनकपुरधाम २३ स्थित शहीद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४४ वर्षीय रतन महतो रहेका छन् । महतोले केही दिन पहिला शहीद दुर्गानन्द झाको सालिकमा चप्पल प्रहार गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
त्यसपछि सामाजिक सञ्जालमा शहीद झाका अनुयायीहरूले उक्त घट्नाको निन्दा गर्नका साथै चप्पल प्रहार गर्ने व्यक्तिलाई कानुन बमोजिम हदैसम्मको सजायको माग गर्दै आएका थिए ।
जनकपुरधामसहित विभिन्न स्थानबाट विभिन्न संघसंस्था र युवा क्लब राजनीतिक व्यक्ति र पार्टीहरूले जिल्ला प्रहरी कार्यालय धनुषालाई चप्पल प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न ध्यानाकर्षण गराएका थिए ।
सोही अनुसार प्रहरी टोलीले छानबिन गर्दै जाँदा जेठ २९ गते (हिजो)वडा नं. २३ लादोस्थित गाउँमा डुल्दै गरेको अवस्थामा महतोलाई पक्राउ गरेको थियो । महतोलाई धनुषा प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।