
काठमाडौं - खेलकुद नियमन र चिकित्सा विज्ञानबिचको महत्त्वपूर्ण सम्बन्धलाई उजागर गर्दै, अनुसन्धानकर्ताहरूले एण्टी–डोपिङ परीक्षणहरूले पुरुष खेलाडीहरूमा टेस्टिकुलर क्यान्सरको प्रारम्भिक पत्ता लगाउन अप्रत्याशित भूमिका खेलिरहेको पत्ता लगाएका छन्।
स्पोट्र्स मेडिसिन अस्ट्रेलियाको आधिकारिक पत्रिका जर्नल अफ साइन्स एण्ड मेडिसिन इन स्पोर्टमा प्रकाशित अध्ययन अनुसार, नियमित डोपिङ परीक्षणमा सहभागी खेलाडीहरूमा ह्युमन कोरियोनिक गोनाडोट्रोपिन ( एचसीजी ) नामक हर्मोनको स्तर असामान्य रूपमा वृद्धि भएको पाइयो । जुन सामान्य अवस्थामा पुरुषहरूमा नगण्य वा अलिकति मात्र पाइन्छ ।
एचसीजी सामान्यतया टेस्टोस्टेरोन उत्पादनमा सहायक हर्मोन हो र कहिलेकाहीँ प्रतिबन्धित प्रदर्शन वृद्धि गर्ने औषधि प्रयोग गर्दा यसको मात्रा बढाइन्छ । तर पुरुषहरूमा एचसीजीको उच्च मात्रा टेस्टिकुलर क्यान्सरको महत्त्वपूर्ण सूचक हो, जसले डोपिङ परीक्षणलाई अप्रत्याशित रूपमा प्रारम्भिक स्वास्थ्य जाँचको उपकरण बनाएको छ ।
२०१० पछिका घटनाहरूको विश्लेषण गर्दा, एचसीजीको स्तर बढी देखिएका सबै खेलाडीहरू ३५ वर्षमुनिका थिए । डोपिङ परीक्षणबाट समयमै पत्ता लागेपछि, तीमध्ये प्रायः सबैलाई प्रारम्भिक चरणमा नै क्यान्सर पत्ता लागेर उपचार भयो र चाँडै खेलकुदमा फर्कन सके । दुर्भाग्यवश, एक खेलाडीमा मात्र क्यान्सर शरीरका अन्य भागमा फैलिएको (मेटास्टेसिस) र त्यसपछि उनको निधन भएको छ । राष्ट्रिय एण्टी–डोपिङ एजेन्सी नेपाल (नाडानेपल) का संस्थापक प्रमुख डा. अशिम भण्डारीले यस अनुसन्धानलाई खेलाडी स्वास्थ्य अनुगमनमा ऐतिहासिक उपलब्धि भनेका छन् ।
“यो अनुसन्धानले एण्टी–डोपिङ विज्ञान र रोग प्रतिरोधन स्वास्थ्यबिचको महत्त्वपूर्ण सहकार्यलाई उजागर गरेको छ,” उनले भने, “नेपालमा हामीले खेलकुदमा निष्पक्षता मात्र होइन, खेलाडीहरूको स्वास्थ्य सुरक्षामा पनि जोड दिन प्रतिबद्ध छौँ। यस्ता तथ्यहरूले हामीलाई समयमै गम्भीर रोग पहिचान गर्न डोपिङ परीक्षणलाई उपयोग गर्ने नयाँ अवसर प्रदान गर्छ।”
“दक्षिण एसियाका खेलाडीहरूलाई निष्पक्षता र स्वास्थ्य सुरक्षाको दोहोरो सुनिश्चित गर्ने प्रणाली चाहिन्छ । समयमै पत्ता लगाउने र उपचार प्रक्रिया सुदृढ बनाउनु अपरिहार्य छ।”
अन्तर्राष्ट्रिय खेलकुद तथा चिकित्सा समुदायमा यस अध्ययनले एण्टी–डोपिङ संरचनालाई रोग प्रतिरक्षण र स्वास्थ्य अनुगमनका लागि विस्तार गर्ने विषयमा नयाँ बहस सुरु गरेको छ । यसले विश्वव्यापी खेलाडी कल्याण नीति पुनः परिभाषित गर्न सक्छ ।
विश्व खेलकुद समुदायले निष्पक्ष खेल र खेलाडीको स्वास्थ्य सुनिश्चित गर्न खोज्दै गर्दा, यो अनुसन्धानले डोपिङ नियन्त्रणका अप्रत्याशित लाभहरू — लुकेका स्वास्थ्य समस्याहरूको पहिचान र जीवन जोगाउने अवसर प्रदान गरेको पुष्टि गरेको छ ।